राजनीति

रविको तस्वीर सार्वजनिक प्रकरणमा छानबिन समिति गठन

पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रहरी हिरासतभित्र सुतिरहेको तस्वीर सार्जवनिक भएपछि यसको छानबिनका लागि समिति गठन भएको छ ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख तथा वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

हिरासतको कोठामा लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कसरी बाहिर आयो भन्ने बहस बिहीबार सुरु भएको थियो ।

रास्वपाले तस्बिर सार्वजनिक हुनुमा प्रहरीलाई दोष दिएको थियो । लामिछानेकै सहयोगी दीपक बोहोराले बुधबार राति फेसबुकमा लामिछाने कास्की प्रहरीको हिरासतभित्र सिरक ओढेर सुतिरहेको तस्बिर राखेका थिए ।

सो तस्वीर डा. निकोलस भुसालले खिचेको बताउँदै त्यसको जिम्मा लिने र कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताइसक्नुभएको छ ।

तस्वीर सार्वजनिक गर्ने डा. भुसालले बिहिबार फेसबुक लाइभबाट तस्वीर कसरी खिचेको भन्ने स्पष्ट पार्नुभएको छ । उहाँले उक्त तस्बिर गत शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताएका छन् । त्यो दिन लामिछानेलाई भेट्न र हौसला दिन हिरासतमै गएको बताउनुभएको छ ।

हिरासतमा लामिछानेको स्वास्थ्य अवस्था बुझेर फर्किएपछि जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’ मा बस्ने क्रममा सीसीटीभी फुटेजको ‘डिस्प्ले’ हुने टीभी ‘स्क्रिन’ बाट उक्त तस्बिर खिचेको डा. भुसालले बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “भेटेर निस्किएपछि सीसीटीभीको मनिटरमा फोटो खिचेको हुँ, हिरासतभित्र खिचेको होइन, सीसीटीभी क्यामेराको फुटेज खिचेको हो । अन्यथा सोचेको थिइँन, तर गल्तीको लागि जिम्मेवारी लिएर क्षमा माग्छु ।”

लामिछानेको तस्बिर बाहिरिएपछि प्रहरीको आलोचना भएको छ । जिल्ला प्रहरी कार्यालय परिसरभित्र प्रवेश गर्नेबित्तिकै गेटनजिकै प्रहरीले सर्वसाधारणको मोबाइल राख्ने गरेको छ  भने भुसालले कसरी मोबाइल लगे र तस्वीर खिच्न कसरी दिइयो भन्ने प्रश्न उठेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त तस्बिर सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस विषयले अहिले नयाँ बहस पनि ल्याएको छ । कतिपय राजनीतिज्ञले प्रहरी प्रमुखमाथि नै कारबाही हुनुपर्ने बताइरहेका छन् ।

त्यस्तै कतिपय सुरक्षा विज्ञले हिरासतको तस्बिर सार्वजनिक हुनुमा प्रमुख रूपमा प्रहरीकै कमजोरी भएको र यसले अनुसन्धानमा समेत असर पर्नसक्ने बताएका छन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले सुरक्षाका हिसाबले हिरासतभित्रको तस्बिर सार्वजनिक हुनुले सुरक्षा व्यवस्थाको कमजोरी देखिनुका साथै जारी अनुसन्धानमा समेत असर पर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.