सरकारको काम सहमति अनुसार भएन कि भन्ने परेको छ
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउँदै सहमति अनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको बताउनुभएको छ ।
शुक्रबार धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षीय काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन”, नेता डा कोइरालाले भन्नुभयो ।
उहाँले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पार्नुभयो । नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन धनगढी पुग्नुभएको हो ।
नेता डा. कोइरालालाई स्थानीय नेता तथा कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्