क्रिकेटखेल

सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले जित्यो पहिलो संस्करणको एनएनपिएल उपाधि

सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो ।

उपाधिसंगै जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझाएको छ । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८४ रन बनायो ।

सुदूरपश्चिमको लागि ओपनर सैफ जैबले ४३ बलमा आठ चौका र दुई छक्का प्रहार गर्दै ६९ रनको अर्धशतकीय पारी खेले भने बिनोद भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए । यी दुईले पहिलो विकेटको लागि ११७ रनको शतकीय साझेदारी गरेका थिए ।

त्यस्तै ब्रानडन म्याकुलेन र हर्मित सिंहले समान १४-१४ रन जोड्दा स्कट कुगलाइनले १३ र दीपेन्द्र सिंह ऐरीले नौ रन बनाए । जनकपुरको लागि किशोर महतो र मोहम्मद मोहसिंहले तीन विकेट लिए भने जिमी नीशम र ललितनारायण राजवंशीको भागमा समान एक-एक विकेट रह्यो । सुदूरपश्चिमले दिएको एक सय ८५ रनको लक्ष्य लिएर मैदान उत्रेको जनकपुरले १९ दशमलव २ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

जनकपुरको लागि लहिरु मिलान्थाले ४९ बलमा नौ चौका र चार छक्का प्रहार गर्दै ८९ रनको अर्धशतकीय पारी खेले भने कप्तान आसिफ शेखले १९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३३ रन बनाए । यस्तै हार्ष ठकर ३० रनमा अविजित रहे ।

सुदूरपश्चिमको लागि इशान्त पाण्डे, सैफ जैब, दीपेन्द्र सिंह ऐरी र स्कट कुगलाइनले समान एक-एक विके लिए । सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.