लेखा समितिका सभापति पोखरेलको राजीनामा माग
सहकारी ठगी प्रकरणमा मुछिएर पनि अनुसन्धानको दायरामा नपर्नुभएका प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरिएको छ ।
चार महिनापछि सोमबार बसेको समितिको बैठकमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागि समेत सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने बताउँदै मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो ।
सांसद मोदीले भन्नुभयो, “चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ । तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यस कारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।”
यसअघि नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले पनि लेखा समितिका सभापति पोखरेलको राजीनामा मागेको थियो ।
४ पुसमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पत्रकार सम्मेलन गर्दै पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै राजीनामा मागेका थिए ।
उमागौरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको छ ।
यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन्। त्यसैले माओवादी केन्द्रले लेखा समिति सभापति पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै राजीनामा माग्दै आएको छ ।
यसै गरी बैठकमा एमाले सांसद योगेश भट्टराईले बारम्बार उठिरहने भ्रष्टाचारका विषयमा संसदीय समितिमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताउँदै सभापति पोखरेलले आफ्नी पत्नीलाई लुकाएर राख्ने कुरा स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ुसभापतिले आफ्नो परिवारलाई छोपेर, लुकाएर राख्ने कुरा भएन । सभापति एमालेको प्रतिनिधि, इमानदार सदस्य र सांसद भएपछि त्यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन, उहाँको श्रीमती पक्कै पनि अदालतमा हाजिर हुन जानुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्