सेती लोकमार्ग पहिचानका लागि बर्दगोरिया महोत्सव सुरु
कैलालीको बौनियामा मंगलबारबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव सुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज उद्घाटन गर्नुभयो ।
‘कृषि, व्यापार, संस्कृति र बर्दगोरिया पर्यटकीय धामको विकासः निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने मूल नाराका साथ बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा महोत्सव सुरु भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यस लोकमार्गको निर्माणका लागि दबाब स्वरूप यहाँ विगतका वर्षदेखि नै महोत्सवको आयोजना गरिँदै आएको छ । सोही अनुरूप यसवर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको बजार व्यवस्थापन समितिका अध्यक्ष देवराजसिंह स्वारले जानकारी दिनुभयो ।
महोत्सवको आज उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले लोकमार्ग निर्माणको काम सङ्घीय सरकारले अगाडि बढाएअनुरूप भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले लोकमार्गको अवधारणालाई अगाडि बढाउँदा तीन खण्डमा बजेट विनियोजन भयो । कैलालीको जानकी गाउँपालिकास्थित दुगौलीबाट टेण्डर भई प्रक्रिया अगाडि बढेको छ । काम भइरहेको छ तर सीमित स्रोतसाधनका कारण चाहेअनुसार उपलब्धि हुन सकेको छैन ।”
मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई चीनसँग जोड्न ताक्लाकोट सीमानाका र सेती लोकमार्ग निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि आफूले पहल गरिरहेको बताउनुभयो । “तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण जानुअघि र केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सोही माग गर्दै पत्र हस्तान्तरण गरेको थिए । प्रदेश सरकार यस विषयमा गम्भीर छ”, उहाँले भन्नुभयो ।
आयोजकले सेती लोकमार्ग निर्माण, बौनिया बजारको ढल निकासलगायत माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।
कार्यक्रममा महोत्सव सुरुवात गर्ने बर्दगोरीया गाउँपालिका अध्यक्ष कर्ण कुँवर, पत्रकार लिलाजङ्ग शाहीलगायतलाई सम्मान गरिएको थियो । उद्घाटन समारोहमा लम्किचुहा नगरपालिका प्रमुख सुशीला शाही, मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टलगायतको उपस्थित हुनुहुन्थ्यो । महोत्सव आगामी १८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्