विश्व समाचार

ट्रम्पको ग्रिनल्यान्ड बारेको टिप्पणीमा डेनिस प्रधानमन्त्रीले दलका नेताहरूसँग भेट्ने

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको ग्रिनल्यान्डको नियन्त्रण लिने महत्त्वाकांक्षालाई लिएर डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले बिहीबार दलका नेताहरूसँग बैठक बोलाउनुभएको एक सरकारी स्रोतले बताएको छ ।

डेनिस प्रधानमन्त्री

जनवरी २० मा पदभार ग्रहण गर्न लाग्नुभएका ट्रम्पले मङ्गलबार पनामा नहर र ग्रिनल्यान्डमाथि सैन्य हस्तक्षेपको सम्भावनालाई अस्वीकार गर्न नमान्दा नयाँ चिन्ताको लहर फैलाउनुभएको छ । पनामा नहर र ग्रिनल्यान्डमाथि उहाँले संयुक्त राज्य अमेरिकाको नियन्त्रण चाहनुभएको छ ।

ट्रम्पको यो टिप्पणी उहाँका छोरा डोनाल्ड ट्रम्प जुनियरले डेनमार्कको स्वायत्त क्षेत्र रहेको आर्कटिक टापुको निजी भ्रमण गरेको बेला आएको हो ।

“दलका नेताहरूसँगको बैठकले हामीलाई सरकारले विगत केही दिनमा लिएका कदमहरू साझा गर्ने अवसर दिन्छ”, डेनिस विदेशमन्त्री लार्स लोके रासमुसेनले पत्रकारहरूलाई भन्नुभयो ।

प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनको कार्यालयले एएफपीलाई बिहीबार साँझ ७ः३० बजे (१८३० जिएमटी) बैठक हुने पुष्टि गरेको छ ।

विदेशमन्त्री लोके रासमुसेनले डेनमार्क ‘विदेश नीति सङ्कट’ मा छ भन्ने विश्वास नगरेको तर यसको अर्थ ‘शब्दहरू कार्यमा परिणत भएमा… सङ्कट हुन नसक्ने होइन’ भन्नुभयो ।

“डेनमार्कको ओभल अफिसमा प्रवेश गर्दा राष्ट्रपतिसँग वाकयुद्ध बढाउने कुनै महत्त्वाकांक्षा थिएन”, उहाँले जोड दिनुभयो, “मेरो आफ्नै धारणा के हो भने तपाईंले ट्रम्पलाई धेरै गम्भीरतापूर्वक लिनुपर्छ तर जहिले पनि शाब्दिक रूपमा होइन । हामी यसलाई यति गम्भीरतापूर्वक लिन्छौँ कि हामी यसमा काम पनि गरिरहेका छौँ ।”

ट्रम्पले पहिलो पटक सन् २०१९ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा ग्रिनल्यान्ड किन्न चाहेको बताउनुभएको थियो । उक्त प्रस्तावलाई ग्रिनल्यान्ड र डेनमार्कले तुरुन्तै अस्वीकार गरेका थिए ।

ग्रिनल्यान्डमा प्रमुख खनिज र तेल भण्डारहरू छन् । यद्यपि तेल र युरेनियम अन्वेषण प्रतिबन्धित छ । यसको आर्कटिकमा रणनीतिक स्थान छ र यहाँ पहिलेदेखि नै एक अमेरिकी सैन्य अड्डा छ ।

ग्रिनल्यान्ड सरकारले बुधबार ‘ग्रिनल्यान्ड ग्रिनल्याण्डका जनताको हो’ भन्यो । “ग्रिनल्याण्डको विकास र भविष्य यहाँका जनताले मात्र निर्णय गर्छन्”, सरकारले भन्यो ।

साथै सरकारले ‘हाम्रा नजिकका साझेदारहरू मध्ये एक’ का रूपमा संयुक्त राज्य अमेरिकासँग सहकार्य जारी राख्ने बताएको छ । “ग्रिनल्यान्ड, अमेरिका र बाँकी पश्चिमी विश्वको सुरक्षाको फाइदाका लागि अमेरिकासँग ग्रिनल्यान्डले ८० वर्षभन्दा बढी समयदेखि रक्षा सहकार्य गरेको छ”, यसले भन्यो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.