कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टीले स्थापनाकालदेखि नै विपन्न नागरिकका पक्षमा काम गर्दै आएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १९औँ स्थापना दिवस तथा रक्तदान कार्यक्रममा बिहीबार आयोजित कार्यक्रममा नेता डा कोइरालाले कांग्रेसले मुलुकका कम आय भएका नागरिक र किसानको हितमा स्थापनाकालदेखि नै काम गर्दै आएको उल्लेख गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवं आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगार व्यवसायलाई अनुशासित ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले आगामी फागुनमा हुने लोकतान्त्रिक व्यवसायीको निर्वाचनमा लोकतान्त्रिक प्यानललाई जिताउन सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
एशोसिएसनका संस्थापक अध्यक्ष तिलक रानाभाटले मुलुकमा वैदेशिक रोजगारीको विकल्प नभएको बताउनुभयो । एशोसिएसनका अध्यक्ष दीपक थापाले वैदेशिक रोजगार व्यवसायलाई ठगी खाने पेसा नभएर पवित्र पेसा हो भन्ने समाजलाई बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
एशोसिएसनको स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा एक सय १७ जनाले रक्तदान गरेका अध्यक्ष थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्