जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

बाजुरा , धनुषा, रोल्पा, सर्लाही, रुपन्देही र महोत्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । बाजुरा, बुढीगंगा नगरपालिका-८ बेतालमाडौंस्थित सडकमा बेतालमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ख १०२० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने कुल बहादुर लुहारको छोरा ४ वर्षीय निसु लुहारको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-३ स्थित सडकमा ज.१ त ४१०१ नम्बरको ट्याक्टर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक महोत्तरी भँगाहा नगरपालिका-९ बस्ने २८ वर्षीय जय किशोर सरदारको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको केसी अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।

यस्तै रोल्पा, गंगादेव गाउँपालिका-१ बिवाङस्थित सडकमा तुल्सीपुरबाट चैतेकाफल मेलटारीतर्फ जाँदै गरेको ग.१ ज ५७४२ नम्बरको डबल क्याब गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने १४ वर्षीय उमेश घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ८ जना मध्ये १ जनाको स्मृती हस्पिटल घर्तीगाउँमा उपचार भइरहेको छ ‌भने ६ जनालाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र एक जनालाई रेउका अस्पताल रोल्पा पठाइएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता सर्लाही, बलरा नगरपालिका-२ हथियौलस्थित सडकमा बिआर ०६ पि २६६२ नम्बरको चार चक्के रथको ठक्करबाट सोही ठाउँ बस्ने बिसुन रायकी छोरी ३ वर्षीया सोहानी कुमारी रायको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भारत मेजरगंजको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रथ चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईस्थित सडकमा लु.८२ प २७५५ नम्बरको मोटरसाइकल ना.१ क १७५३ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा गाउँपालिका-३ करवाना बस्ने ३७ वर्षीय कृष्ण मुरली खनालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै महोत्तरी, गौशाला नगरपालिका-९ बिसरपुरस्थित सडकमा गौशालाबाट बिसरपुरतर्फ जाँदै गरेको ज.१२ प ३५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय जय प्रकाश यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.