सरकारले संसद्लाई बन्धक नबनाओस् : राउत
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँँदै सञ्चालन भएको बेला बढीभन्दा बढी काम गर्न सक्नुपर्ने बताउनुभयो ।
“संसद्को साँचो सरकारसँग भएकाले लामो समय बन्धक भयो । ढिलै भए पनि हामीले जनताका कुरा संसद्मा राख्न पाएका छौँ । अधिकतम ऐन कानुन यो संसद्बाट पारित गरौँ”, उहाँले भन्नुभयो ।
सुशासन र लगानी प्रवद्र्धनका लागि आएका अध्यादेश स्वागतयोग्य रहेका उहाँले बताउनुभयो । अध्यादेशमार्फत सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई सहजीकरण गर्नसक्ने व्यवस्था सकारात्मक रहेको अध्यक्ष राउतको भनाइ थियो ।
भूमिहीनलाई व्यवस्थापन गर्ने विषय राम्रो भएको उहाँले बताउनुभयो । “वास्तविक भूमिहीन पहिचान गरेर जग्गा वितरण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्