जन सरोकार

सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको चर्चा भएअनुसार आयोजना सञ्चालन गरिएको भए तीन वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो ।

यस योजनालाई औपचारिकता दिन विविध कारण तीन वर्ष ढिलाइ भएको छ । मध्यपहाडी क्षेत्रका राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा मालवाहक यातायातका साधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रमा भने सुगमता दिलाएको आभास हुन थालेको छ ।

करिब दुई वर्षअघि सुरु गरिएको यस आयोजना (१६ किलोमिटर) को हाल ३५ प्रतिशत काम सकिएको जनाइएको छ । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाद्वारा निर्माणाधीन सडक विस्तार कार्यले हाल तीव्रता समेत पाएको छ । अन्य राजमार्गबाट सवारीसाधन धुलिखेलबाट अरनिको राजमार्ग हुँदै एकहोरो रुपमा राजधानी जाने गर्दछन् ।

यसकारण पनि सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारले यातायातको क्षेत्रमा सुगमता थप्ने भएको हो । अरनिको राजमार्गको प्रस्थानविन्दु कोटेश्वरदेखि सूर्यविनायकसम्म भने एक दशकअघि छ लेनमा विस्तार गरिसकिएको हो ।

सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यस सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन् । दुई लेन रहेको अरनिको राजमार्गको यस सडकखण्डलाई छ लेनका लागि विस्तार कार्य भइरहेको छ ।

सडक दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सडक विस्तार कार्य सम्पन्न भएपछि यस क्षेत्रबाट सङ्घीय राजधानी काडमाडौँ प्रवेशका लागि निकै सुगमता हुने बताइन्छ । “अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गौरवको आयोजना हो, सडक विकासमा एउटा फड्को हो, यो सम्पन्न भएपछि मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईसम्मका यातायातमा आवतजावतका लागि सुगमता थपिनेछ”, प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो । उहाँका अनुसार यो खण्डको विस्तार कार्य सकिएपछि अरनिको राजमार्ग थप विस्तार कार्यलाई अघि बढाइनेछ ।

बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ सडक विस्तार कार्यले काभ्रेली नागरिकमा खुशियाली छाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही वर्षदेखि सडकमा सवारी चाप बढिरहेकाले काठमाडौँ पुग्ने २५ किमि सडकमा डेढ दुई घण्टा लाग्ने गर्दथ्यो, अब छ लेनको बनेपछि सजिलो गरी आधा घण्टा–पौने घण्टामा पुग्नेछौँ, यो निकै खुसीको कुरा हो ।”

उहाँले सडकमा देखिएका विविध समस्या सुल्झाएर आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएकामा छिट्टै सम्पन्न हुने विश्वास गरेको बताउनुभयो ।

आयोजनाको आग्रहअनुसार दिनका करिब पाँच घण्टा सडक बन्द गरेर निर्माण कार्यलाई थप तीव्रता दिन राजमार्ग क्षेत्रअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि छलफलमा जुट्न थालेका छन् ।

तर उहाँहरुले आयोजनाको प्रस्ताव व्यावहारिक नभएको जनाउँदै आउनुभएको छ । उहाँहरुले भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्र गतिमा गर्नसमेत आयोजनासँग माग गर्नुभएको छ । राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगर प्रमुखहरुको भनाइ छ ।

धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले सडक निर्माणको काम नागरिकलाई समस्या नपर्ने गरी गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “वैकल्पिक सडकको व्यवस्था हुनुप¥यो, अनि मात्र आयोजनाको मागतर्फ जान सकिन्छ ।”

भक्तपुरका नगरप्रमुख सुनिल प्रजापतिले भने अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताउनुभएको छ । उहाँले निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने जनाउँदै सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्ने र राजमार्ग वरपरका टहरा बिना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्छ भन्नुभएको छ ।

यस्तै, सूर्यविनायकका नगरप्रमुख वासुदेव थापा आयोजनाको कामलाई थप तीव्रता दिनुपर्ने बताउँदै यस आयोजना राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुहुन्छ । यस सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।

२०७९ पुस २४ बाट सुरु गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको हो । आयोजनाका अनुसार भने केही समय थप्नुपर्ने देखिएको छ । मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ ।

हाल यस सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती तथा तल ठूलो भिर भएकाले काम गर्न केही अफ्ठ्यारो परेको जनाइएको छ ।

साँगामा समस्या रहेको डेढदेखि दुई किमि सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)ले देखाएको छ ।

यस दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्नेछ ।

यो सडकमा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०-२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोलपम्प नजिक निर्माण गरिने भएको हो । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको जनाइएको छ ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो राजमार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही कानुनका आधारमा सडकका दायाँबायाँमा घर बनेको थिए ।

यसैबीच पुरातत्व विभागले हाल स्तरोन्नति भइरहेकोे सूर्यविनायक–धुलिखेल सडकखण्डमा पर्ने पुरातात्विक–ऐतिहासिक सम्पदाको संरक्षण गर्न आग्रह गरेको छ । ऐतिहासिक सम्पदाको संरक्षणार्थ विभागले स्तरोन्नति भइरहेको यस सडकखण्डसँग सरोकार राख्ने दुई जिल्ला भक्तपुर र काभ्रेपलाञ्चोकका निकाय, सडक विभाग तथा आयोजनालाई आग्रह गरेको हो ।

विभागले यस क्षेत्रमा सम्पदा प्रभाव मूल्याङ्कन (एचआइए) भइसकेको जनाउँदै एचआइएको प्रतिवेदनबमोजिम मात्रै परम्परागत निर्माण सामग्रीको प्रयोग गरी मौलिक स्वरुपमा पुनर्निर्माण गर्न पत्राचारमार्फत आग्रह गरेको छ ।

विभागका सङ्ग्रहालय अधिकृत पुरुषोत्तम आचार्यका अनुसार ढुङ्गेधारालगायत ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा प्राचीन स्मारक ऐन २०१३ (पाँचौँ संशोधन) बमोजिम गर्न तथा हालसम्म भए गरेका कार्यको प्रगतिसमेत विभागलाई उपलब्ध गराउन भनिएको छ ।

यसअघि आयोजनाले स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गत अरनिको राजमार्गमा आठ दशमलव चार किमि सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको जनाइएको थियो । यस संरचनामा काभ्रेपलाञ्चोकतर्फ साँगा–धुलिखेल सडकखण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा रहेको आयोजनाको विवरण उल्लेख गरिएको छ ।

यस्तै भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा जनागालस्थित पीपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् । यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् ।

आयोजनालाई अब सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन एवं स्थानान्तरण गर्ने गरी बनाइएको वैकल्पिक ढाँचाका विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल गर्दै निर्माण प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

“हामी साँगा–धुलिखेल सडकखण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल गरिरहेका छौँ, आयोजना छलफलकै आधारमा उपयुक्त विकल्पमा जाने पनि तयारी गर्दैछौँ”, आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले भन्नुभयो ।

आयोजनाले साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिर नजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने जनाएको छ ।

यस्तै नासिका मन्दिरको वरिपरिको ‘वाल’ संरक्षण गरी एकतर्फी सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ । स्थानीयवासीले भने नासिका मन्दिरको ऐतिहासिक महत्व भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले बताउनुभयो ।

साँगाको ढुङ्गेधारा केही पर सारी पानीट्याङ्कीसहितको निर्माण गर्न आयोजनाले प्रस्ताव गरेको छ भने भैँसेपाटीमा रहेका दुई कुवालाई दाँहिनेतिर इन्टेक निर्माण गरी ट्याङ्कीसहितको ढुङ्गेधारा निर्माणको प्रस्ताव गरिएको छ । स्थानीयले साँगामा हरेक वर्ष मनाउँदै आएको बिस्केट जात्राका लागि प्रयोग हुने स्थान, पोखरी तथा मन्दिर, धारा र कुवाको विशेष संरक्षणका लागि आयोजनाले सहयोग गर्नुपर्ने बताउँदै आएका हुन् ।

पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि सवारी चाप बढ्दै गएपछि विस्तार थालिएको हो ।

चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.