‘वसन्त पञ्चमी’- पूर्वीय सभ्यताको शिक्षा दिवस
कुनै पनि नव कार्यको सुरुवात गर्नुपूर्व देवी–देवताको पूजा आराधना गरेर त्यसको सफलताको कामना गर्ने सनातन धर्म, संस्कृति र अभ्यासमा हरेक नयाँ कुराको थालनी धार्मिक आस्था, विश्वास, मान्यता, संस्कार र विधि छन् ।
यस्तै महान विधिमध्येमा एक सर्वाधिक महत्वपूर्ण सनातनी अभ्यासमा पर्दछ औपचारिक शिक्षाको आरम्भको उत्सव वसन्त पञ्चमी । हरेक वर्ष वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका दिनबाट बालबालिकाहरुलाई अक्षर चिनाउने काम हुन्छ ।
वैदिक संस्कृति, अभ्यास र परम्परामा सरस्वतीलाई विद्याकी देवीका रुपमा आराधना गरिन्छ । त्यसै कारण बालबालिकामा शिक्षाको आरम्भ वसन्त पञ्चमी अर्थात् सरस्वतीको पूजाबाट सुरु हुन्छ । यसै दिन शिक्षा र ज्ञान, सीपसंग सम्बन्धित हरेक क्षेत्रमा सरस्वतीको पूजा गरिन्छ ।
सरस्वती पूजाका दिनदेखि विद्यालयहरुमा अनौपचारिक रुपमा बालबालिकालाई अक्षरारम्भ गराउँदै भर्ना सुरु गरिन्छ । शिक्षाको जग मानिएको विद्यालय र त्यसमा पनि शिशु कक्षालाई विशेष ख्याल गरेर यो कदम चालिन्छ । तर, शिक्षा पद्धतिमा सुधारका विषयमा कमै मात्र चासो दिने गरिन्छ ।
सरस्वतीको आराधनाको अर्थ अक्षर चिन्नु मात्र होइन, विद्या, ज्ञान, विज्ञान, संगीत, कला लगायतका विषयमा सिर्जनशील बन्ने अभिलाषा राख्नु पनि हो । तर, सरस्वती पूजाको नाममा कतिपय विद्यालयहरुले व्यापार बढाउने मेसो समेत गर्ने गरेका छन् । यो भगवानप्रतिको अपमान त हो नै, शिक्षालाई व्यापारीकरणको सबभन्दा निकृष्ट अभ्यास पनि हो ।
शिक्षा भनेको ‘सिकेर क्षमता बढाउने’ आधार हो । शिक्षित भनेर सिकेर क्षमता बढाएर गरिखानसक्ने बनेकालाई भनिन्छ । यसका लागि आराधना, साधना, मेहेनत चाहिन्छ । त्यो मेहेनतको आधार माता सरस्वती हुन् । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको सन्दर्भमा रहेकाले शिक्षा प्राप्ति र प्रदानका विषयमा केही व्यवहारिक पक्षलाई संक्षेपमा चर्चा गर्नु आवश्यक रहेको छ ।
हामीले दिने शिक्षाले बालबालिकाको भविष्य कस्तो बन्छ भन्ने सोच्ने हो भने हाम्रा शिक्षण पद्धति र बिधि सजिलै परिमार्जन गर्न सकिन्छ । सरकारी नीतिभित्रै रहेर बालबालिकालाई मौलिकता र सिर्जनशीलतामा आधारित शिक्षा दिन कुनै कानुनले रोकेको छैन ।
तर, हाम्रोमा व्यवहारिक जीवनभर उपयोगमा आइरहने ज्ञान वा सिर्जनशीलताको विकास गराउने परम्परा मासिइसकेको छ । अहिले कायम रहेको शिक्षण पद्धतिमा थोरै मात्र परिमार्जन गर्ने हो भने छोटै समयमा नेपालको शैक्षिकस्तर गुनासोरहित हुनसक्छ ।
यसका लागि शिशु तहदेखि समयसापेक्ष, व्यवहारिक र नैतिक पक्षलाई समेटेर उनीहरुको बौद्धिक, शारीरिक र मानसिक विकास गराउने, समाजसापेक्ष गतिविधिमा सक्रिय गराउने, अतिरिक्त क्रियाकलाप र बालबालिकाको रुची तथा क्षमता अनुसारको अभ्यासमा अग्रसर गराउनु पर्दछ । यसबाट सक्षम नागरिक उत्पादनको आधार तयार हुनेछ र माता सरस्वतीको आराधना गर्नुको तात्विक अर्थ पनि रहन्छ ।
प्रारम्भमा हामीले जस्तो शिक्षाबाट बालबालिकालाई अघि बढाउँछौं उसको विकास सोही अनुसार हुन्छ, उसको सिक्ने क्षमता, अनि ग्रहण गर्ने क्षमता पनि सोही अनुसार अघि बढछ, परिस्कृत हुँदै जान्छ । शिक्षाको जग प्रारम्भिक शिक्षा नै हो तर आजसम्म बालबालिका लागि दिइने प्रारम्भिक शिक्षाका बारेमा औपचारिक समारोहमा बाहेक अन्य समय गम्भीर बहस भएको छैन । बालबालिकालाई शिक्षक, अभिभावक वा विद्यालयले लादेको कुरा मात्र पढाउने कि उसको क्षमता र चाहनालाई पनि ख्याल गर्ने भन्ने महत्वपूर्ण पाटोतिर गम्भीरतापूर्वक चिन्तन नै भएको छैन ।
हामी विद्याकी देवी सरस्वतीको आराधना गरेर बालबालिकाको औपचारिक अध्ययन सुरु गराउँछौं, तर अध्ययन भनेको केवल किताब पढ्ने, अभिभावकले आफ्ना सपनाको भारी बोकाएर यस्तो र उस्तो बन्नुपर्छ भन्ने बाहेक उसको क्षमता, रुचीको ख्याल गर्दैनौं । यसको विपरीत नेपालभन्दा धेरै पर, पश्चिमा मुलुकहरुमा बालबालिकाको क्षमता र चाहना अनि प्रतिभा अनुसारको शिक्षा दिइन्छ, त्यसैले ती देश विकसित भए । सरस्वतीले प्रदान गर्ने ज्ञानको सही अनुयायी आजभोलि उनीहरु भएका छन् ।
व्यापारीकरण र राजनीतिकरणले थिलथिलो भएको शिक्षा पद्धति र विधिका कारण हाम्रा शैक्षिक संस्थाहरु विदेशीका लागि जनशक्ति उत्पादन गरिदिने कारखाना मात्र बनिरहेको आरोप छ ।
हुन पनि विद्यालय तह सक्दानसक्दै निम्न आय भएका परिवारका छोराछोरी खाडीतिर श्रम गर्न जाने, अलिक हुनेखानेका छोराछोरी ‘प्लस टु’ सकेपछि विदेश जाने । हामीले यो प्रथाको अन्त्य गर्नुपर्दछ । लादिएको शिक्षाले केवल शैक्षिक बेरोजगार मात्र उत्पादन गर्छ । आजको बालक वा बालिकाले उसको चाहना र क्षमता अनुसार पाएको ज्ञान नै भोलि मुलुकका लागि काम लाग्छ । यसका लागि जग मजबुत बनाउनुपर्छ ।
बालबालिकालाई विद्यालयल भर्ना गर्नुअघि अभिभावकले उनीहरुको मनोविज्ञान, क्षमता र रुची बुझ्नु जरुरी छ र सोही आधारमा विद्यालयले व्यवहार गर्नुपर्दछ । बालबालिकालाई निर्धारित पाठ्यपुस्तक पढाएर मात्र जिम्मेवारी पूरा हुँदैन, ज्ञान अथवा शिक्षाका बहुआयामिक पक्षलाई व्यवहारमा उतार्नु शिक्षक शिक्षिकाको कर्तव्य हो । आफ्ना शिष्यको क्षमता अनुसार उनीहरुलाई अघि बढ्न प्रेरणा दिने, बाटो देखाउने शिक्षक शिक्षिका नै सही अर्थमा विद्याकी देवी सरस्वतीको प्रतिरुप हुन् ।
अहिलेको अभ्यासमा शिक्षा भनेको किताब घोकाउनु, गृहकार्य गराउनु मात्र हो भन्ने ठानिन्छ । तर, पुस्तकमा पढाएकोभन्दा धेरै जान्ने हुन्छन् आजका बालबालिका । उनीहरुले नयाँ नयाँ कुरा पत्ता लगाएका हुन्छन् । तर विद्यालयमा वा घरभित्रै पनि त्यस्ता कुराहरुलाई प्राथमिकता दिइदैन । बालबालिकाको व्यक्तित्व विकासका लागि यो सबभन्दा खराब पक्ष हो ।
काखे बालकलाई मोबाइल फोन दिएर रमाउने बाबुआमाहरु विद्यालय जाने छोराछोरीलाई मोबाइलबाट नयाँ कुरा सिक्ने सन्दर्भमा अति संकीर्ण बन्छन् । जसलाई मोबाइल दिनै हुँदैन उसलाई दिने र जसलाई दिनुपर्ने हुन्छ उसलाई नदिने गर्दा बालबालिकामा अर्कै मनोभावनाको विकास हुन्छ, जसले गर्दा उनीहरु गलत बाटोतिर पनि लाग्न सक्छन् ।
समयको धार पक्रने भन्दैमा विकृतिको अभ्यास गर्नुपर्छ भन्ने हैन र आधुनिक बन्ने भन्दैमा पुराना राम्रा र सांस्कृतिक रुपमा स्थापित भएका, समाजमा अभ्यास गरिएका प्रथाहरुको बिरोध गर्नुपर्छ भन्ने पनि होइन । शिक्षण विधिलाई गुरुकुलीय पद्धतिमा जस्तै थोरै मात्रै व्यवहारिक ज्ञान विद्यालयभित्रै दिन सकियो भने त्यसले आजका बालबालिकालाई शिक्षित, ज्ञानी र सीपवान बनाउनेछ । यसले मात्र शिक्षाको अर्थ उजागर गर्नेछ ।
पूर्वीय सभ्यताको शिक्षा दिवस अर्थात् सरस्वती पूजा (वसन्त पञ्चमी) मनाउनुको सार्थकता रहनेछ । निर्वाध रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार आम नागरिकलाई संविधानले नै दिएकाले कोही पनि शिक्षाको उज्यालो घामबाट ओझेल पर्नु नपरोस र शिक्षा कर्मकाण्डमा मात्र सीमित नराखी यसैका माध्यमबाट गुणवान, देशभक्त, कर्मठ नागरिक बनाउने आधारशीला पनि हो भन्ने बुझेर शिक्षा क्षेत्रमा कायम रहेका तमाम विकृतिहरुको अन्त्य पनि उत्तिकै आवश्यक छ ।
(लेखक श्रेष्ठ, नीलगिरि विद्यालय पकनाजोल काठमाडौंका संचालक सदस्य हुनुहुन्छ ।)
प्रतिक्रिया राख्नुहोस्