राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितको लागि एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गमाउँदै एक सय ४५ रन बनायो । नेपालका लागि पुजा महतोले ५१ बलमा पाँच चौकाको मद्दतमा अविजित रहँदै ६२ रनको अर्धशतकीय पारी खेलिन् भने कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौका प्रहार गर्दै ३९ रन बनाइन् ।
त्यस्तै रुबिना क्षेत्रीले १७ बलमा तीन चौकाको सहयोगमा २० रन जोड्दा कविता जोशी ७ रनमा अविजित रहिन् । नेदरल्यान्ड्सको लागि आइरिस ज्वीलिङले दुई विकेट लिइन् भने क्यारोलिन डे लेन्ज र हिथर सेगर्सको भागमा समान एक-एक विकेट रह्यो ।
यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रनलेर चौथों खेलमा थाइल्यान्डसंग पाँच रनमा पराजित हुँदै उपाधि होडबाट बाहिरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्