अमेरिकाबाट निकालिए एकसय चारजना अवैध भारतीय आप्रवासी
संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान बुधबार भारत आइपुगेको स्थानीय मिडियाले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० को उद्घाटनपछि हजारौँ कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन् । तिनमा केही अपराधका आरोपीहरू पनि छन् ।
उत्तरी सहर अमृतसरका एएफपी फोटोग्राफरले अमेरिकी सैन्य विमान अवतरण गरेको देखेका थिए र भारतीय मिडियाले रिपोर्ट गरेअनुसार यसमा एक सय चार जना भारतीय आप्रवासी थिए ।
ट्रम्पको आप्रवासन सुधारसम्बन्धी कार्यकारी आदेशहरूले एक करोड १० लाख कागजातविहीन आप्रवासीलाई प्रभाव पार्ने अनुमान गरिएको छ । नयाँदिल्ली र वासिङ्टन दुवैले निर्वासनका बारेमा विशेष टिप्पणी गरेका छैनन् ।
तर भारतमा रहेको अमेरिकी दूतावासका प्रवक्ताले वासिङ्टनले ‘आफ्नो सीमालाई कडाइका साथ लागु गरिरहेको, आप्रवासन कानूनलाई कडा बनाएको र अवैध आप्रवासीहरूलाई हटाएको’ बताउनुभयो ।
“विशेषगरी सङ्गठित अपराधका अन्य रूपहरूसँग जोडिएको हुनाले नयाँदिल्ली गैरकानूनी आप्रवासनको विरोधमा दृढ छ”, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले गत हप्ता भन्नुभएको थियो, “भारत–अमेरिका आप्रवासन र गतिशीलता सहयोगको हिस्साका रूपमा, दुवै पक्ष गैरकानूनी आप्रवासनलाई रोक्ने प्रक्रियामा संलग्न छन्, साथै भारतबाट अमेरिकामा कानूनी आप्रवासनका लागि थप मार्गहरू सिर्जना गर्दैछन ।”
भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो र विश्वकै उच्च कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर छ तर पनि लाखौँ नागरिक विदेशमा राम्रो अवसरको खोजीमा हरेक वर्ष देश छोड्छन् ।
यसको प्रवासी समुदाय विश्वभर फैलिएको छ तर अमेरिका अझै पनि रोजाइको गन्तव्य हो ।अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) को तथ्याङ्क अनुसार सन् २०१८–२०२३ को बीचमा पाँच हजारभन्दा बढी भारतीयलाई देशबाट निर्वासित गरिएको थियो ।
अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सन् २०१७ देखि २०२१ सम्म ट्रम्प ह्वाइट हाउसमा हुँदा न्यानो सम्बन्ध थियो । आलोचकहरूले उहाँहरू दुवैलाई अधिनायकवादी प्रवृत्तिको आरोप लगाउँछन् ।
मोदीले अर्को हप्ता वासिङ्टन भ्रमण गर्ने सम्भावना रहेको र त्यहाँ उहाँले ट्रम्पलाई भेट्ने अपेक्षा गरिएको भारतीय मिडियाले व्यापक रूपमा रिपोर्ट गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्