हिमवत्खण्ड कला–साहित्य–संस्कृति प्रबद्र्धन गर्न सम्मिलन
पूर्वीय सभ्यताको स्रोत, स्कन्द पुराणमा नेपाललाई हिमवत्खण्डको केन्द्रका रूपमा मानिँदै आइएको छ । पुराणअनुसार हिमालयपालित सिन्धु प्रदेशदेखि ब्रह्मपुत्रसम्म फैलिएको मानसरोवर समन्वित भूखण्ड नै हिमवत्खण्ड हो ।
हिमवत्खण्ड नेपालमा प्राचीन ग्रन्थ ऋगवेद र प्राचीन भाषा संस्कृतको जन्म भएको तथा सप्तगण्डकीमा काश्यप र पुलस्त्य ऋषि, कोशीमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा राजा जनक, यज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालिदासलगायत कविको जन्म भएको पाइन्छ ।
यही मान्यतालाई जोड दिंदै यसको व्यापकताका लागि हिमवत्खण्डको मुख्य भूमि नेपालमा आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन आयोजना हुने भएको छ ।
हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कतिक वैभवका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषाभाषीका संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई सुदृढ बनाउने उद्देश्यका साथ सम्मिलन आयोजना गरिएको आयोजक मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
तीन दिनसम्म चल्ने सम्मिलनमा नेपालका सातै प्रदेश, हिमाल, पहाड र तराईका सांस्कृतिक झाँकीको प्रस्तुत गरिने छ । सम्मिलनमा सातै प्रदेशबाट लोक संस्कृतिसम्बन्धी एक/एकवटा र नेपाल बाहिरबाट म्यान्मा, बङ्गलादेश, भारत, चीन, भूटान, थाइल्यान्डलगायत देशका तर्फबाट प्रतिनिधिमूलक गोष्ठी पत्र प्रस्तुति, प्राज्ञिक विमर्श र सांस्कृति प्रस्तुत हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सम्मेलनमा सिक्मिका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङलाई ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मान–२०८१’ प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्