एनआरएनलाई भिसा दिने प्रावधान संविधान विपरीत
पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था संविधानमा राखिए पनि अहिले भिसा दिने प्रावधान राखिनु हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ ।
बिहिबार प्रतिनिधि सभामा बोल्दै प्रचण्डले सरकारले जारी गरेको अध्यादेशमा गैरावासीय नेपालीलाई भिसा दिने प्रावधान राखिएकोमा गैरआवासीय नेपालीहरूले असन्तुष्टि जनाइरहेको जनाउँदै सो टिप्पणी गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं । म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालीन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ’, प्रचण्डले भने, ‘त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता लिइसक्नु भएको छ ।’
उहाँले अगाडि भन्नुभयो, ‘सरकारले मातहतका निकायलाई एउटा सर्कुलरसम्म नगर्दा त्यसको कार्यान्वयन हुन सकेको छैन । यो कागजको खोस्टो सरह भयो भनेर उहाँहरूले गुनासो गरिरहनु भएको छ । अहिले आएर एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद छ।’
संविधानले नै राजनीतिक बाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरा सुनिश्चित गरिसकेपछि फेरि भिसाको प्रावधान संविधानको मर्म र भावना विपरीत पनि भएको उहाँले बताए ।
‘यसले एनआरएन लगानीलाई मात्र दुरुत्साहन गर्दैन, दोस्रो तथा तेस्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्छ । त्यसैले संविधानले एनआरएनहरुलाई दिएको अधिकारमा दायाँबायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्