‘महिला सबै विधाका चलचित्रमा काम गर्न सक्षम’
निर्देशक कृषा चौलागाईंले महिला निर्देशक सबै विधाका फिल्म निर्देशन गर्न सबल रहेको बताउनुभएको छ ।
![pitambar](https://www.nepaljapan.com/wp-content/uploads/2025/02/pitambar-e1739328873872.jpg)
कमलपोखरीस्थित एक चलचित्र भवनमा मङ्गलबार चलचित्र ‘पिताम्बर’ को गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक चौलागाईंले महिला निर्देशक हुँदैमा विधागत रुपमा कमजोर ठान्नेलाई आफ्नो कामले जवाफ दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यति धेरै कलाकार र प्राविधिकलाई लिएर एउटी महिला निर्देशकले कसरी काम गर्न सक्छिन् ? भन्ने प्रश्न धेरैको थियो । त्यसैले मलाई काममा झनै लगनशील रहन र मेहनत गर्न प्रेरित गर्यो । यो श्रव्यदृश्य त केही होइन, चलचित्र निकै भव्य बनेको छ । यो सम्भव हुनुमा सम्पूर्ण कलाकारले म प्रति गर्नुभएको विश्वास र निर्माण समूहको सहयोग मुख्य कारण रहेको छ । मैले चलचित्रलाई भव्य बनाउन कुनै सम्झौता गरेकी छैन ।”
निर्देशक चौलागाईंले चलचित्रमा सामाजिक विषय उठान गरिएको भए पनि प्रस्तुतीकरण द्वन्द्व प्रधान भएको बताउनुभयो । यही चलचित्रमार्फत द्वन्द्व प्रधान विधामा प्रस्तुत भएका अभिनेता प्रदीप खड्काले आफूले निर्माण समूहको लगनशीलता देखेर विषयवस्तु नसुन्दै अभिनयका लागि सहमति दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्माण गर्ने शैली, त्यसप्रतिको लगावले मलाई राम्रो काम गर्नुहुन्छ भन्नेमा विश्वत बनायो । त्यसका साथै मैले निर्वाह गरेको भन्दा यो फरक भूमिका थियो । आफूलाई नयाँ रुपमा दर्शकसम्म लान पाएपछि अभिनेताले कसरी नाई भन्न सक्छ र ? यो चलचित्र बनिरहेको भन्दा फरक र भिन्न छ ।”
यसमा अभिनेता खड्कासँगै दिव्य देव, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा, प्रमोद अग्रहरीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
दक्षिण भारतीय चलचित्रमा पाश्र्वसङ्गीतकारको रुपमा काम गरिसक्नुभएका काला चरणले नेपाली चलचित्रको स्तर बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले विभिन्न भाषाको चलचित्रमा काम गरेको छु ।
महिलाले हरेक विधामा अब्बल रुपमा काम गरिरहेको पाएको छु । यो चलचित्रमा देखिएको भव्यता भारतीयभन्दा कम छैन । म यसमा जोडिन पाउँदा खुसी छु ।”
प्रदीप भारद्वाज र अभिमन्यु निरवीले संयुक्त रुपमा पटकथा र संवाद लेख्नु भएको चलचित्र ‘पिताम्बर’ मा पुरुषोत्तम प्रधानले छायाङ्कन निर्देशन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्दे प्रसादले सम्पादन, आशीष अविरल र बाबुल गिरीले सङ्गीत सिर्जना र हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्