विश्व समाचार

ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी– युएसएड)) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार रिपोर्ट गरेका छन् ।

ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त

वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उहाँको कार्यालयले निकायलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि आएको हो ।

ती सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मङ्गलबार पठाइएको दुई वाक्यको इमेललाई उद्धृत गरेका छन् । इमेलमा निर्णयको कारण बताइएको थिएन तर उहाँको पद ‘तत्काल लागु हुने गरी समाप्त’ भएको जनाइएको थियो ।

ट्रम्प प्रशासनले सहायता फ्रिज र स्टप–वर्क अर्डर (रोक्का र काम रोक्ने) लागू गरेपछि ४८ करोड ९० लाख डलरभन्दा बढी खाद्यान्न सहायता बिग्रने वा सम्भावित दुरुपयोगको जोखिममा रहेको उहाँको कार्यालयको प्रतिवेदनले चेतावनी दिएको थियो ।

प्रतिवेदनले लामो समयदेखि ‘महत्त्वपूर्ण चुनौतीहरू पहिचान गरेको र धोखाधडी, फजुल खर्च र दुरुपयोग रोक्न एजेन्सीको कार्यक्रम सुधार गर्न सिफारिसहरू प्रस्ताव गरेको’ बताएको छ ।

“तथापि एजेन्सीभर हालैको व्यापक कर्मचारी कटौती… विदेशी सहायता छुटको दायरा र कार्यान्वयनकर्ताहरूसँग अनुमति योग्य सञ्चारबारे अनिश्चितताका साथ मिलेर, युएसएडको करदाताद्वारा वित्त पोषित मानवीय सहायता वितरण र सुरक्षा गर्ने क्षमता कमजोर भएको छ”, प्रतिवेदनमा भनिएको छ ।

ट्रम्पले पहिले नै १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसक्नुभएको थियो । उहाँहरू सङ्घीय सरकारका स्वतन्त्र निगरानीकर्ता हुनुहुन्थ्यो तर ट्रम्पका पूर्ववर्ती जो बाइडेनले नियुक्त गर्नुभएका मार्टिन भने पदमा रहनुभएको थियो ।

गत महिना आफ्नो दोस्रो कार्यकाल सुरु गर्नुभएका ट्रम्पले विश्वका सबैभन्दा धनी व्यक्ति र आफ्ना प्रमुख दाता एलन मस्कको नेतृत्वमा अमेरिकी सरकारका विभिन्न अङ्गलाई कम गर्न वा विघटन गर्न अभियान सुरु गर्नुभएको छ ।

सबैभन्दा बढी निशाना युएसएडमाथि केन्द्रित छ । यो निकाय करिब १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरू सञ्चालन गर्दै विश्वभर अमेरिकी मानवीय सहायता वितरण गर्ने प्रमुख संस्था हो ।

युएसएडले ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्छ । यो विश्वभर वितरित मानवीय सहायताको ४२ प्रतिशत हो । चीन लगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि सङ्घर्षमा संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्त्वपूर्ण स्रोतका रूपमा यसलाई हेरिएको थियो ।

ट्रम्प प्रशासनले विदेशी सहायता रोकेको छ, हजारौँ अन्तर्राष्ट्रिय आधारित कर्मचारीलाई संयुक्त राज्य अमेरिका फर्कन आदेश दिएको छ र युएसएडका १० हजार कर्मचारीको सङ्ख्या करिब तीन सयमा घटाउन थालेको छ ।

श्रमिक युनियनहरूले आक्रमणको वैधतालाई चुनौती दिइरहेका छन् । एक सङ्घीय न्यायाधीशले सप्ताहन्तमा दुई हजार दुई सय युएसएड कामदारलाई भुक्तान बिदामा राख्ने प्रशासनको योजनामा शुक्रबार रोक लगाउने आदेश दिएका छन् ।

डेमोक्रेटहरूले व्यवस्थापिकाको स्वीकृति बिना ट्रम्पले सरकारी निकायहरू बन्द गर्नु असंवैधानिक हुने बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.