आराकावामा एभरेष्ट इन्टरनेशनल स्कुलको शाखा विस्तार
जापानमा नेपाली पाठ्यक्रम अनुसार अध्यापन हुने राजधानी टोकियोमा नेपालीहरुले स्थापना गरेको एभरेष्ट इन्टरनेशनल स्कुलले आफ्नो सेवा नेपालीहरुको बाक्लो उपस्थिति रहेको आराकावामा बिस्तार गरेको छ ।

आराकावा शाखाबाट नयाँ शैक्षिकसत्र (वैशाख) अप्रिलदेखि नर्सरीदेखि कक्षा ५ सम्म पठनपाठन सुरु गर्ने गरी तैयारी भैरहेको स्कुल प्रशासनले जनाएको छ ।
बालबालिकाका लागि शिक्षामा सबैभन्दा बढी अनुदान उपलब्ध गराउने आराकावामा संचालन हुने स्कूलले सोही अनुसार शुल्कमा विशेष छुट दिइने स्कुलका प्रिन्सिपल बिष्णुप्रसाद भट्टले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अनुदान प्राप्त गर्ने प्रक्रियामा लाग्ने समयावधिसम्म किन्डरगार्टेन तहका विद्यार्थीहरुको शुल्कमा ५० प्रतिशत छूट दिईने र कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुको शुल्कमा पनि विशेष छूटको व्यवस्थासहित भर्ना शुल्कमा ५० प्रतिशत छूट गरिने छ ।
स्कुलका सञ्चालक समितिका अध्यक्ष भवन भट्टले एभरेष्ट इन्टरनेशनल स्कुलमा हाल विद्यार्थीहरुको चाप थेग्न नसकिएको अवस्था र नेपालीहरुको बाक्लो उपस्थिति रहेको संभावित स्थानमा शाखा बिस्तार गर्ने स्कुलको नीति अनुसार आराकावामा उक्त संभावना देखिएकोले त्यहाँ किण्डरगार्टेन तहदेखि कक्षा ५ सम्मको पढाई सुरु गर्न लागिएको बताउनुभयो ।
एभरेष्ट इन्टरनेशनल स्कुलको हाल ओकुबोमा किन्डरगार्टेन (एभरेष्ट किड्स), आशागायामा कक्षा १ देखि कक्षा ३ सम्म र ओगिकुबोमा कक्षा ४ देखि १२ कक्षासम्म पढाई भइरहेको छ ।
सञ्चालक समितिका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठले जापानमा नेपालीहरुको आगमन बढ्दो क्रममा रहेको र सोहीअनुसार स्कुल जाने उमेरका बालबालिकाहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेकोले हाललाई नर्सरीदेखि कक्षा ५ सम्मको पढाई हुने गरी आराकावामा शाखा बिस्तार गरिएको हो बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्