राजनीति

सापकोटाको निधनमा अध्यक्ष नेपालद्वारा दुःख प्रकट, केन्द्रीय कमिटी बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति दुःख प्रकट गर्नुभएको छ ।

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरी प्रगतिशील तथा वामपन्थी आन्दोलनका नेता सापकोटाको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

लोकतन्त्र स्थापनाका लागि सापकोटाले पु¥याएको योगदानको स्मरण गर्दै उहाँले कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा देशले असल र इमान्दार नेता गुमाएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनप्रतिनिधिका रुपमा उहाँले नेपालको प्रगतिशील आन्दोलन, समाज विकास र रुपान्तरणमा गर्नुभएको योगदानलाई उच्च सम्मानसहित स्मरण गर्दै आदर्शको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कलेजोसम्बन्धी रोगले ग्रस्त ५९ वर्षीय सापकोटाको उपचारका क्रममा आज बिहान करिब ४ बजे चाबहिलको हेल्पिङह्यान्ड अस्पतालमा देहावसान भएको हो । उहाँको श्रीमती र एक छोरी हुनुहुन्छ ।

उहाँको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सापकोटाको निधनका कारण प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आज र शुक्रबार बस्ने तयारी गरिएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले  बैठक शुक्रबार र शनिबारलाई सारिएको  जानकारी दिनुभयो । सो पार्टीले शोक वक्तव्य जारी गर्दै सापकोटाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

केन्द्रीय कमिटी बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, अध्यादेशका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.