“दुईवटा रोटी र दाल खाने मलाई किन पैसा चाहियो ?”
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबिरुद्ध विदेशमा पैसा राखेको भ्रम फैलाउने गरेको बताउँदै “दुईवटा रोटी र अलिकति दाल भए पुग्ने मलाई किन पैसा चाहियो’ र स्वीजरल्याण्डको बैंंकमा जम्मा गरुँ” भन्दै प्रश्न गर्नुभएको छ ।

शुक्रबार ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डको बैङ्कमा पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भन्नुभयो, “मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन ।”
उहाँले अगाडि भन्नुभयो “ सबै जीवन खुल्ला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने, भ्रम फिजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता र संस्कार होइन ।”
सोही कार्यक्रममा प्रधानन्त्री ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने पनि स्पष्ट गर्नुभएको छ ।
हिजोसँगै रहेर मस्यौदा गरेका केही साथीहरुले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गर्नुभयो ।
“हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । त्यो हामीले खोलायौँ । अहिले तिनै मान्छे बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन् ।”
प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वतन्त्रताका नाममा देशविरुद्ध लाग्ने, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन । चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जथाभावी बोल्ने काम गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नु हुँदैन ।”
उहाँले सुशासनबाट मात्रै देशलाई समृद्धितर्फ लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटोछरितोरुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा वर्तमान सरकार रहेको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा उल्लेखनीय योगदान दिएका अगुवा व्यवसायी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्