डेढ वर्षको उत्पादनले पार्टीलाई पुगेको छ, चन्दा मागेर खानुपरेको छैन
कृषिलाई पार्टीको आम्दानीको स्रोत बनाउँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले डेढ वर्षको उत्पादनले पार्टीलााई पुगेको बताउँदै चन्दा उठाउन नपरेको बताउनुभएको छ ।

शुक्रबार दैलेखमा राजनीतिक भेटघाट तथा चियापान कार्यक्रममा उहाँले सो कुरा बताउँदै पार्टलाई आत्मनिर्भर बनाएर जनतामा जाने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले देशलाई समृद्ध बनाउने हो भने उत्पादनमा जोड दिनुपर्ने बताउँदै भन्नुभयो, “डेढ वर्षको उत्पादनले पार्टीलाई पुगेको छ । चन्दा उठाएर खानुपरेको छैन । यो देश बनाउने हो भने उत्पादनमा जोड दिनुपर्छ ।”
आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई अहिले खानाका लागि समस्या नभएको दाबी गर्दै पार्टीलाई तराई–मधेसमा धान, पहाडमा सुन्तला, हिमालमा स्याउ र जडीबुटी रोपेर आत्मर्निभर भएर जनतामा जाने प्रतिबद्धता उहाँको थियो ।
उहाँले चन्दा माग्ने संस्कार अन्त्य गर्ने आफ्नो अठोट रहेको स्पष्ट पार्दै भन्नुभयो, “हामीले पार्टीलाई माग्न नपर्ने अवस्थामा पुर्याउने अठोट गरेका छौँ । अब भातका लागि कसैलाई गुहार्नुपर्ने स्थिति छैन ।”
जुम्लामा सामुदायिक स्याउखेती गर्न जाने क्रममा यहाँ आइ पुग्नुभएका आफ्नो पार्टी सत्तामा नभएपनि उत्पादन गरेर आफूले खाने र गरिब जनतालाई खुवाउने अठोटका साथ काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्