नौ वर्षपछि ‘फेरि रेशम फिलिली’
नौ वर्षअघि प्रदर्शन गरिएको ‘रेशम फिलिली’ चलचित्रमा समावेश गीत ‘पिरतीको जालमा’ ले सङ्गीतकार कालीप्रसाद बाँस्कोटालाई स्थापित गरेको थियो ।

विसं २०७२ सालमा वैशाख ११ गते प्रदर्शन भएको चलचित्रले पहिलो दिनमा एक करोडको हाराहारीमा ‘ग्रस’ व्यापार गर्न सफल भएको थियो । दोस्रो दिनमै भूकम्पका कारण प्रदर्शन रोकिए पनि सुरुआती समयमा भएको व्यापारको चर्चा पछिसम्म भयो ।
सोही कारण यसको ‘सिक्वेल’ नौ वर्षपछि ‘फेरि रेशम फिलिली’ को निर्माण गरिएको छ । यस शृङ्खलाका अभिनेता तथा निर्माता विनय श्रेष्ठले दर्शकको अपेक्षा अनुसारको विषयवस्तु तयार गर्न समय लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दर्शकका कारण लोकप्रिय बनेको चलचित्रको अर्को भाग व्यापारिक मात्र नभई सृजनात्मक रुपमा पनि बलियो होस् भनेर पटकथामा मेहनत गरेका छौँ । यसले अहिलेको युवापुस्तामा बढ्दो विदेश मोह र त्यसले निम्त्याउने समस्यालाई देखाइएको छ । विषय गम्भीर भएपनि प्रस्तुतीकरण मनोरञ्जनात्मक छ ।”
‘रेशम फिलिली’ कै पात्र र परिवेशलाई ‘फेरि रेशम फिलिली’ मा निरन्तरता दिएको अभिनेता श्रेष्ठले बताउनुभयो । निरोज महर्जनको पटकथा र निर्देशन रहेको चलचित्रमा अभिनेता श्रेष्ठसँगै, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठीलगायतले अभिनय गर्नुभएको छ । निर्देशक महर्जनले नौ वर्ष अगाडी दर्शकले रुचाउनुभएको पात्रको निरन्तरता दिएर अहिलेको परिवेश चलचित्रमा देखाएको बताउनुभयो ।
“चलचित्रमा देखिएका दुई पात्र रेशम र हरिया हाम्रो युवाका प्रतिनिधि हुन् । त्यसैले हामीले विदेशिने मोहले निम्त्याउने परिस्थितिलाई व्यङ्गयात्मक शैलीमा प्रस्तुत गरेका छौँ”, निर्देशक महर्जनले भन्नुभयो ।
चलचित्रलाई रौनकविक्रम कँडेलले निर्माण गर्नुभएको छ । यो चलचित्र शिवरात्रिको अवसर पारेर यही फागुन १४ देखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्