क्रिकेटखेल

च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको कीर्तिमानी जित, इंग्ल्यान्ड पाँच विकेटले पराजित

अस्ट्रेलियाले च्याम्पियन्स ट्रफी क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको छ । शनिबार भएको खेलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आयोजना गरेको आइसीसी प्रतियोगिताकी उच्च स्कोरको रनको लक्ष्य पार गर्दै अस्ट्रेलियाले कीर्तिमानी जित हासिल गरेको हो ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । इंग्ल्यान्डले दिएको तीन सय ५१ रनको उच्च लक्ष्य अस्ट्रेलियाले ४७ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाको लागि जोस इंग्लिसले ८६ बलमा आठ चौका र ६ छक्काको मद्दतले अविजित एक सय २० रनको शतकीय पारी खेले भने एलेक्स केरीले ६३ बलमा आठ चौकाको सहयोगमा ६९ र म्याथ्यु शर्टले ६६ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै मार्नुस लाबुसेनले ४७ रन जोड्दा ग्लेन म्याक्सवेल ३२ रनमा अविजित रहे । इंग्लिसले पाँचौं विकेटका लागि केरीसँग एक सय ४६ रनको शतकीय साझेदारी गरेका थिए भने र छैटौं विकेटका लागि म्याक्सवेलसँग अविजित ७६ रनको साझेदारी गरे ।

इङ्ग्ल्यान्डका लागि आदिल राशिद, मार्क उड, बायडेन कार्से, लियम लिभिङ्गस्टोन र जोफ्रा आर्चरले समान एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि ओपनर बेन डकेटले १४३ बलको सामना गर्दै १७ चौका र ३ छक्काको सहयोगमा १ सय ६५ रनको शतकीय पारी खेले भने जो रुटले ६८ रन बनाए । यस्तै जोफ्रा आर्चरले २१ रन जोड्दा र कप्तान जोस बटलरले २३ लियम लिभिङस्टोनले १४ रन बनाए ।

त्यस्तै, जेमी स्मिथले १५ रन बनाई आउट भए भने फिल साल्टले १० रन जोडे । अस्ट्रेलियाका लागि बेन द्वारसुइसले तीन विकेट लिए भने एडम जाम्पा र मार्नुस लाबुसेनले समान दुई-दुई विकेट लिँदा ग्लेन म्याक्सवेलको भागमा एक विकेट रह्यो ।

प्रतियोगिता अन्तर्गत आज दुबईमा चिर प्रतिद्वन्दी भारत र पाकिस्तान नेपाली समय अनुसार पौने तीन बजे भिड्दै छन् । जारी प्रतियोगितामा पाकिस्तान पहिलो खेलमा न्युजिल्याण्डसंग ६० रनले पराजित भएको थियो भने भारतले बंगलादेशलाई छ विकेटले हराएको थियो । यदि आजको खेलमा पाकिस्तान पराजित भए उसको अघिल्लो चरण पुग्ने सम्भावामा लगभग सकिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.