सशस्त्र प्रहरीका इन्स्पेक्टर महत मृत्यु प्रकरणमा इन्स्पेक्टर जोशी पक्राउ
गत आइतबार झण्डिएको अवस्थामा भेटिएकी सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्रकै प्रहरी निरीक्षक विवेक जोशी पक्राउ परेका छन् ।

पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा प्रहरी निरीक्षकको आधारभूत तालिम गर्दै आएकी सिन्धुपाल्चोक घर भएकी महत ब्यारेकमा मृत भेटिएकी थिइन् ।महतको शव ब्यारेकको महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा भेटिएको थियो ।
महतको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा आइतबार किटानी जाहेरी दिएपछि सोमबार बेलुका जोशीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जोशीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
पक्राउ परेका प्रहरी निरीक्षक जोशी तनहुँमा कार्यरत छन् । महत र जोशी प्रेम सम्बन्धमा रहेको र जोशीकै कारण महतले आत्महत्या गरेको किटानी जाहेरी परेको छ ।
यो घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बलले प्रहरी नायब महानिरीक्षक लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्