बन्दीपुर भ्रमण वर्ष सफल बनाउन गोरखापत्र संस्थानले सहयोग गर्ने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गोरखापत्र संस्थानले प्राथमिकता दिने भएको छ ।

बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा गोरखापत्र संस्थान र पद्म पुस्तकालयले मंगलबार बन्दीपुरमा आयोजना गरेको राष्ट्रिय सिर्जना सम्मेलनमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले भ्रमण वर्ष सफल बनाउन सञ्चारमाध्यमका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गोरखापत्रबाट पूर्ण सहयोग रहने बताउनुभयो । महाप्रबन्धक ऐरीले भन्नुभयो, “बन्दीपुर भ्रमण वर्ष सफल बनाउनु हाम्रो पनि जिम्मेवारी हो । बन्दीपुरको पर्यटकीय गतिविधिलाई संस्थानले प्राथमिकताका साथ प्रकाशन गर्नेछ ।”
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले भ्रमण वर्ष सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै यस अभियानमा जोडिएकामा संस्थानलाई धन्यवाद दिनुभयो ।
हाल यहाँ वार्षिक रूपमा एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहॉको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको उहाँले बताउनुभयो । अध्यक्ष थापाले गाउँपालिका क्षेत्रका सबै पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो ।
“बन्दीपुर बजारमात्रै नभई गाउँगाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पु¥याउने लक्ष्य छ । भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेजसमेत बनाएका छौँ”, उहाँले भन्नुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पद्म पुस्तकालयका लागि अध्यक्ष सुदर्शन प्रधानलाई संस्थानका तर्फबाट दुई सय थान पुस्तक हस्तान्तरण गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्