खेलफूटबल

‘फोर नेसन्स कप’ को उपाधि म्यान्मारलाई, उपाधि चुम्ने नेपालको सपना फेरि चकनाचुर

नेपाली महिला फुटबलको १३ पटकको फाइनल यात्रासम्म पनि उपाधि चुम्ने सपना पूरा भएन । एक दर्जन फाइनलमा उपाधिविहीन भएको नेपाल यसपटक पनि उपाधिका लागि अभागी सावित भयो ।

आज बिहिबार दशरथ रङ्गशालामा भएको फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिप फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो ।

फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल गर्यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु प¥यो ।

म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् ।

३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन् । त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन ।

४४औँं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन् । नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो । फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रहयो ।

नेपाल साफको १४ वर्षे इतिहासमा सर्वाधिक ६ पटक फाइनल खेले पनि नेपाल अझै उपाधिविहीन छ । यस बाहेक दक्षिण एसियाली खेलकुद (साग) मा ३ पटक तथा हिरो गोल्डकप, नादेज्दा कप र वाफ वुमन्स च्याम्पियनसिपमा समान १ पटक फाइनलमा पराजित भएको थियो ।

नेपालको फाइनल यात्रा
डेढ दशकअघि अर्थात् सन् २०१० देखि फाइनलमा पराजित रहँदैआएको नेपाल सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपाल यसअघि भारतसँग चार पटक र बंगलादेशसँग २ पटक फाईनलमा पराजित भएको छ ।

भारतसँग २०१० मा १–० ले, २०१२ मा ३–१ ले, २०१४ मा ६–० ले र २०१९ मा ३–१ ले पराजित भएको नेपाल २०२२ मा बंगलादेशसँग ३–१ र २०२४ मा २–१ ले पराजित भयो ।

यस्तै २०१० देखि नै साग महिला फुटबलमा नेपाल भारतसँग तीन पटक पराजित भएको थियो । २०१० मा बंगलादेशमा भएको ११औं सागमा नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो ।

सन् २०१६ मा भारतमै भएको १२औं सागमा नेपाल फाइनलमा भारतसँग ४–० ले पराजित भएको थियो भने २०१९ मा नेपालमै भएको १३औं सागमा नेपाल फाइनलमा २–० ले पराजित भएको थियो ।

यस बाहेक २०१९ मै नेपाल हिरो वुमन्स गोल्डकपमा म्यानमारसाग र नादेज्दा कपमा उज्वेकिस्तानसँग फाइनलमा पराजित भएको थियो भने २०२४ फेब्रुअरिमा जोर्डनसँग वाफ च्याम्पियनसिपमा पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.