ट्रम्पले युक्रेनसंग पाँच खर्ब डलर क्षतिपूर्ति मागेपछि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि तीन वर्षमा पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा भुक्तान गरिएको अमेरिकी सहायताको क्षतिपूर्ति माग गर्नुभएको थियो ।

जर्मन आर्थिक अनुसन्धान निकाय किल इन्स्टिच्युटका अनुसार ट्रम्पले पाँच खर्ब डलर क्षतिपूर्ति माग्नुभएको थियो । यो हाल एक खर्ब २० अर्ब डलर बराबरको वासिङ्टनले युक्रेनलाई भुक्तान गरेको रकमको करिब चार गुणा हो ।
सोवापत युक्रेनले अमेरिकासंग खनिज सम्झौताको शर्त राखेपछि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनीहरूको ‘दश पुस्ता’ले तिर्न पर्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने भन्दै यो मस्यौदालाई अस्वीकार गर्नुभयो ।
अमेरिकी शर्तका कारण उत्पन्न विवादपछि किएभ र वासिङ्टनले संयुक्त राज्य अमेरिकालाई युक्रेनी खनिज स्रोतहरूमा पहुँच दिने सम्झौतामा सहमति जनाएका छन् ।
ठ्याक्कै कति रकम जोखिममा छ? के यो सम्झौताले युक्रेनलाई सुरक्षा प्रत्याभूति प्रदान गर्नेछ? भन्नेबारे सम्झौताका महत्वपूर्ण विवरणहरू अझै अस्पष्ट छन् ।
यहाँ यस हप्ता वासिङ्टनमा ट्रम्प र जेलेन्स्कीद्वारा हस्ताक्षर गर्न सकिने सम्झौताबारे हामीलाई थाहा भएका कुराहरू छन् । सम्झौताबारे जानकारी भएको किएभको एक स्रोतले एएफपीलाई पछि बताएअनुसार दस्तावेजको सबैभन्दा हालको मस्यौदाबाट यो माग हटाइएको छ ।
यद्यपि यसले संयुक्त राज्य अमेरिका र युक्रेनले संयुक्त अमेरिकी–युक्रेनी कोषमा राजस्व परिवर्तन गरी एकसाथ खनिज स्रोतहरू विकास गर्नुपर्छ भन्ने सङ्केत गर्दछ । “उनीहरूले हामीलाई नसुहाउने विशेष गरी पाँच खर्ब डलरका बारेमासहित सबै खण्डहरू हटाए”, युक्रेनी स्रोतले भन्यो ।
सुरक्षामा अस्पष्ट
युक्रेन कुनै पनि सम्झौतामा दीर्घकालीन र बलियो सुरक्षा ग्यारेन्टीहरू समावेश गर्नुपर्दछ जसले रसियालाई फेरि कहिल्यै आक्रमण गर्नबाट रोक्न मद्दत गर्दछ भन्ने कुरामा अडिग छ ।
जेलेन्स्कीले गत वर्ष अक्टोबरमा आफ्नो पाँच–बुँदे विजय योजनाको हिस्साका रूपमा युक्रेनी प्राकृतिक स्रोतहरूमा पहुँचलाई सुरक्षा प्रतिबद्धताका लागि आदान–प्रदान गर्ने विचार अघि सार्नुभएको थियो ।
युक्रेन अन्ततः नाटो सदस्यता चाहन्छ। तर त्यो विकल्पलाई – क्रेमलिनका लागि रेड लाइन – वासिङ्टनले रोकेको छ । युक्रेनले युद्धविराम भएको खण्डमा विदेशी शान्ति सैनिकहरू तैनाथ गर्न वकालत गरेको छ। तर संयुक्त राज्य अमेरिकाले यो विकल्पलाई अस्वीकार गरेको छ भने युरोपेली देशहरू यस मुद्दामा विभाजित छन् ।
खनिजहरूको सम्झौताको पाठमा ठोस ग्यारेन्टीबिना युक्रेनी सुरक्षाको सन्दर्भ समावेश हुनसक्छ ।युक्रेनी स्रोतले एएफपीलाई बताए अनुसार यस विन्दुमा छलफलहरू अझै जारी छन् ।
“अमेरिकाले स्थिर र समृद्ध सार्वभौम युक्रेनमा लगानी गर्नेछ भन्ने एउटा सामान्य धारा छ”, त्यहाँ ‘स्थायी शान्ति’ र ‘सुरक्षा ग्यारेन्टी’ का लागि अमेरिकी समर्थनको उल्लेख गरिएको भन्दै स्रोतले भन्यो ।
कुन खनिजहरू ?
युक्रेनसँग विश्वको खनिज स्रोतहरूको लगभग पाँच प्रतिशत छ । तर ती सबै अहिलेसम्म दोहन गरिएका छैनन् – वा सजिलैसँग दोहन गर्न सकिने छैनन् – र केही रुसद्वारा कब्जा गरिएको क्षेत्रमा छन्। यसलाई ट्रम्प सुरक्षित गर्न चाहनुहुन्छ ।
वल्र्ड माइनिङ डाटाका अनुसार युक्रेन म्याङ्गनिजको उल्लेखनीय उत्पादक (विश्वको आठौँठूलो उत्पादक), टाइटानियम (११औँ) र ग्रेफाइट (१४औँ) हो । यी खनिज तत्व विद्युतीय ब्याट्रीहरूका लागि अत्यावश्यक छन् ।
फ्रान्सको ब्युरो अफ जियोलोजिकल एन्ड माइनिङ रिसर्च (बिआरजिएम) का अनुसार युक्रेनसँग विश्वको ग्रेफाइटको अनुमानित स्रोतहरूको २० प्रतिशत छ।
युक्रेनले ‘युरोपको सबैभन्दा ठूलो लिथियम भण्डारहरू मध्ये एक’ भएको पनि बताएको छ । तर नरम धातु अझै ननिकालिएको सरकारले बताएको छ ।
किएभका अनुसार ‘छ वटा भण्डारमा दुर्लभ पृथ्वी धातुहरू अवस्थित रहेको थाहा छ’ र नोभोपोल्टाभस्केभण्डार विकास गर्न ३० करोड डलरको लगानी आवश्यक पर्नेछ । युक्रेनले नोभोपोल्टाभस्के भण्डार विश्वका सबैभन्दा ठूला मध्ये एक भएको दाबी गरेको छ ।
यद्यपि यो स्थल रूसी सेनाद्वारा नियन्त्रित छ र क्रेमलिनले सन् २०२२ देखि कब्जा गरेको क्षेत्र वा सन् २०१४ मा कब्जा गरिएको क्रिमियन प्रायद्वीपलाई अस्वीकार गरेको छ । यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी–कब्जा क्षेत्रहरूमा अमेरिकी लगानीलाई समर्थन गर्ने बताउनुभएको छ ।
लिथियम, ट्यान्टालम, नियोबियम र बेरिलियमको सेभचेन्को भण्डार पोक्रोभस्क नजिकै अग्रिम मोर्चाबाट १० किलोमिटरभन्दा कम दूरीमा छ । त्यहाँ रूसी सेनाले हतियार र सेनाको सङ्ख्यामा कम रहेका युक्रेनी सेनाहरू विरुद्ध जमिन प्राप्त गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्