भूकम्पपछिको पुनःनिर्माणका लागि बजेट व्यवस्थाको काम गरेका छौ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको बताउँदै बजेट व्यवस्थापनको काम गरिएको बताउनुभएको छ ।

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिनुभयो ।
भूकम्पपछिको पुनःनिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुर्ननिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
“हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरको पुनःनिर्माण एवं पुनःस्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ ।”
गृहमन्त्री लेखकले भन्नुभयो, “त्यहाँ केन्द्रबिन्दु भएर गएका भूकम्पबाट नीजि घरमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनःनिर्माण र पुनःस्थापनको काम अगाडि बढाएका छौँ ।”
मन्त्रालयले गत वर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ ।
गृहमन्त्री लेखकले आगामी साता बझाङ, डोटी र जाजरकोट पुगेर पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृहमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्