सामाजिक सञ्जालको प्रयोग मर्यादित हुनुपर्छ : सञ्चारमन्त्री गुरूङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताउनुभएको छ ।

बुकवर्म फाउण्डेशनको आयोजनामा बिहीबारदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको ‘सञ्चार संवाद’ सत्रमा उहाँले सामाजिक सञ्जाल सञ्चालन र प्रयोग यसलाई नियमन गर्न जरूरी रहेको बताउनुभयो ।
“सरकारले सामाजिक सञ्जालमा बढ्दो अराजकता र छाडापनलाई रोक्न विधेयक अगाडि बढाएको हो”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्दन ।” सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जाल नेपालमा दर्ता नभई चलेकाले तिनलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको बताउनुभयो ।
सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको हकको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै उहाँले अराजकता र अनुशासनहीनता स्वीकार गर्न नसकिने बताउनुभयो । “सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजिएको हो, सभ्य र मर्यादित रूपमा यसको प्रयोग होस्”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सहिष्णुता खल्बलिने वातावरण कदापि बन्नुहुँदैन, सरकारले त्यसो हुन दिँदैन ।”
प्रतिक्रिया राख्नुहोस्