एन आर एन न्युज

एकता महाधिवेशन सफल पार्न शेष घलेको आह्वान

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले आउँदो मे महिनामा काठमाडौँमा भेला भएर संस्थालाई एकजुट बनाउन र नयाँ विधान पारित गर्न आग्रह गर्नुभएको छ ।

सर्वोच्च अदालतको फैसला अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिले आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकता महाधिवेशनको तयारीको गरिरहेको छ ।

बिहिबार उच्चस्तरीय समितिद्वारा भर्चुएल माध्यमद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै घलेले संसारभरि रहेका गैरआवासीय नेपालीहरूलाई एकता महाधिवेशन सफल पार्न आव्हान गर्नुभएको हो ।

डा. घलेले संघको इतिहासमा आगामी महाधिवेशन एक कोशेढुंगा हुने बताउँदै यो एनआरएनएको जग हाल्ने अवसर र संस्थालाई रुपान्तरण गर्ने अवसर पनि भएको बताउनुभयो ।

अन्तरक्रियामा डा. घलेले महाधिवेशनबाट नयाँ विधान बनाउने र एकता अधिवेशन समितिलाई यही म्यान्डेट रहेको बताउँदै कसैलाई दोष दिनु भन्दा पनि ऐतिहासिक उपलब्धिको रुपमा लिएर कहिल्यै पनि विवाद नहुने गरी अगाडी बढ्ने अवसर रहेको बताउनुभयो ।

अध्यक्ष घलेले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले परराष्ट्र मन्त्रालयबाट पत्र पाएपछि अहिले सम्म १० ओटा बैठक गरिसकेको बताउँदै अब एकता महाधिवेशनका लागि झन्डै २ महिना समय मात्र बाँकी रहेको जानकारी दिनुभयो ।

एनआरएनख्एका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले आफुहरुले हिजो पनि एकता गर्नु पर्छ भनेर प्रयास गरेको र तत्कालिन प्रधानमन्त्रीको रोहबरमा पनि एकताका लागि प्रयास गरेको बताउनुभयो ।

उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले कतिपय राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुले अप्रिल महिनाभित्रै अधिवेशन गर्न समस्या भै रहेको जनाएको बताउनुभयो ।

समितिकी अर्का सदस्य जानकी गुरुङले उच्चस्तरीय समितिको पोर्टलमा सदस्यताको लागि निवेदन आइरहेको र समितिले छानबिन गरी सदस्यता दिने काम सुरु गरि सकेको जनाइन् । उनले आवेदकहरुलाई भिसा भएको पासपोर्टको फोटो अपलोड गर्न पनि अनुरोध गर्नुभयो ।

त्यस्तै उच्चस्तरीय समितिकी सदस्य रबिना थापाले एकताको लागि समितिले निकै प्रयास गरिरहेको जनाउँदै आगामी मे महिनामा काठमाडौँमा हुन गइरहेको अधिवेशन नै एकमात्र वैधानिक अधिवेशन भएको बताउनुभयो ।

उहाँले संस्थामा लामो समयदेखि चलिरहेको विवादलाई समाधान गरी एकताबद्ध एनआरएनए बनाउन सबैलाई अपिल गर्नुभयो ।

उच्चस्तरीय समितिका सदस्यद्वय रबीना थापा तथा जानकी गुरुङले संचालन गरेको अन्तरक्रियामा सहभागीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष घलेले जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.