विश्व समाचार

ह्वाइट हाउसमा ट्रम्प-जेलेस्की भनाभन, नयाँ तनावको संकेत

ट्रम्पको चेतावनी- 'अमेरिकाले सैन्य सहायता दिन छोड्यौँ भने यो लडाइँ दुई सातामै सकिन्छ'

अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेस्कीबीचको बहुप्रतिक्षित वार्ता भनाभनमा टुंगियो । वार्ता तनावपूर्ण रहेपछि युक्रेन अमेरिकाबीच हुने भनिएको खानी सम्झौता अनिश्चित भएको छ ।

ह्वाइट हाउसस्थित ओभल अफिसमा भएको वार्ताका क्रममा जेलेन्स्कीले राष्ट्रपति ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की गर्दै बाहिरिनुभएको थियो ।

वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीलाई ‘तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको’ आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता नगरेमा अमेरिका बाहिरिन चेतावनी दिए पनि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता नगर्ने अडान लिनुभयो ।

विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन आदेश दिइयो ।

वार्तास्थलबाट बहिरिंदै जेलेन्स्कीले फक्स न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पसँग हुन गएको विवाद दुवै पक्षका लागि ठीक नभएको प्रतिक्रिया दिंदै पछिल्लो घटनापछि पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताउनुभयो ।

वार्ताका क्रममा ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताउँदा जेलेन्स्कीले आफूले युद्धविराम चाहेको उल्लेख गरे पनि पुटिनसंग सम्झौता नगर्ने अडान लिनुभयो ।

उहाँले युक्रेनलाई अमेरिकाले गरेको सहायताबारे पनि चर्चा गर्दै अमेरिकी सहायताबिना युक्रेन केही पनि नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले तपाईँहरूलाई ३५० अर्ब डलर दिएका छौँ। सैन्य उपकरण दिएका छौँ। यदि हामीले सैन्य सहायता दिन छोड्यौँ भने यो लडाइँ दुई सातामै सकिन्छ।’

युक्रेनले रुससँग युद्धमा जित्न नसक्ने स्पष्ट पार्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘युक्रेन यतिखेर ठूलो सङ्कटमा छ। तपाईँहरू यो लडाइँ जित्न सक्नुहुन्न। तर यदि तपाईँ हामीसँग हुनुहुन्छ भने लडाइँबाट बाहिरिने मौका तपाईँसँग छ।’

दुई नेताबीच चर्काचर्की भएका कारण भेटपछि हुने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिने बाटो देखाइयो ।

भेटघाटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोशलमा एउटा पोस्ट गर्दै जेलेन्स्कीले अमेरिकाको अपमान गरेको आरोप लगाउँदै यदि उनी शान्ति चाहन्छन् भने फेरि यहाँ आउन सक्छन् भन्नुभएको छ ।

ट्रम्पले लेख्नुभएको छ, ‘भेटघाटका क्रममा कैयौँ कुरा आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनकि अमेरिका त्यसमा संलग्न छ। मलाई अरू कुनै फाइदा चाहिएको छैन म त केवल शान्ति चाहन्छु ।’

उता जेलेस्कीले पनि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युक्रेनले शान्ति चाहेको उल्लेख गर्दै लेख्नुभएको छ, ‘धन्यवाद अमेरिका तिम्रो समर्थनका लागि, धन्यवाद यो भ्रमणका लागि। धन्यवाद अमेरिकी राष्ट्रपति, कङ्ग्रेस र अमेरिकी जनता। युक्रेन केवल र केवल शान्ति चाहन्छ अनि हामी त्यसैका लागि काम गरिरहेका छौं ।’

जेलेन्स्की र ट्रम्पले ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर गर्ने

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.