ढिलै भए पनि भएको जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत
हिउँदे वर्षा नभएर चिन्तित जुम्लाका किसानलाई ढिलै भए पनि शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा राहत पुगेको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो ।

उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिनुभयो । ढिलो गरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् ।
गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षात्का भरमा जौँ, गहुँ बाली लगाउने गर्छन् ।
हिमपातका कारण जाैँ, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका–६ का स्थानीय किसान दुर्गा शाहीले बताउनुभयो ।
जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताउनुभयो । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।
साथै सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दूरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ । गत २४ घण्टामा जिल्लामा ३३ मितिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्