स्वर्गद्वारी गुठीपीडित मोही संघर्ष समिति र प्रहरीबीच झडप, डिएसपी घाइते
दाङको स्वर्गद्वारी गुठी पीडित किसानहरु आफ्ना माग पूरा गराउन यतिबेला राजधानीमा भेला भाएका छन् । उनीहरु सरकारसँग तीन बुँदे माग राख्दै माइतीघरमा धर्ना दिँदै आइरहेका थिए।

आइतबार भने स्वर्गद्वारी गुठीपीडित मोही संघर्ष समिति बानेश्वरमा प्रदर्शन गर्दै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसंग झडप भएको छ । प्रहरीले झडपको क्रममा १२ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसारा झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी गंगा पौडेलको टाउकोमा चोट लागेको छ ।
बोहराको बानेश्वरकै सिभिल अस्पतालमा उपचार भइरहेको छ। चोट लागेको भागमा पाँच टाँका लगाइएको एसपी बोहराले जानकारी दिनुभयो ।
पुस्तौंदेखि खेतिपाती गर्दै आएको जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीको नाममा पुगेपछि पीडितहरू सरकारलाई सुनाउन दाङबाट काठमाडौं आएका थिए।
यसअघि दाङमै २०८० फागुन ७ देखि १ महिनामै आन्दोलन गरेका थिए। सरकारसँग दुई बुँदे सम्झौता भए पनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।
मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैथानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
प्रतिक्रिया राख्नुहोस्