सिमसार संरक्षणले अजिङ्गरको सङ्ख्या बढ्दै
सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको सङ्ख्या बढ्दै गएको छ । वनभित्र रहेका सिमसार, पोखरी, ताल तलैया, नदी, खोलालगायत संरक्षणमा टेवा पुगेपछि अजिङ्गरको सङ्ख्या बढ्दै गएको हो ।

जिल्लाको बेलौरी र पुर्नवास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन् । अन्य क्षेत्रका वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने गरेका स्थानीय बताउँछन् ।
पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट ५६ बढी अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको साउनदेखियता नौ वटा अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा छाडिएको छ ।
संरक्षणको सूचीमा सूचीकृत अजिङ्गर बेलौरी नगरपालिका–१, २, ३, ५ र ७ मा अधिक देखापरेका छन् भने पुर्नवास नगरपालिका–१, ४, ६ र ११ मा बढी देखिएका यालवले बताउनुभयो ।
“पुनर्वास र बेलौरी क्षेत्रमा अधिक रूपमा सिमसार क्षेत्र रहेका छन्”, प्रमुख यादवले भन्नुभयो, “अजिङ्गरलाई पर्याप्त आहारा पाइने, तालतलैया, नदी, खोला रहेका छन्, उपयुक्त हावापानी छ, उखुखेती पर्याप्तमात्रामा भएकाले उपयुक्त बासस्थान छन् ।”
उत्तरमा लालझाडी वन क्षेत्र, दक्षिणमा भारतीय दुधवा नेशनल पार्क, पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र भएकाले बेलौरी र पुनर्वासमा बढी अजिङ्गर फेला पर्ने गरेका उहाँले बताउनुभयो ।
“विगतमा अजिङ्गर देखापर्नेबित्तिकै मार्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “हाल वन्यजन्तुको संरक्षण गर्नुपर्छ, ‘इकोसिस्टम’ बचाउनका जिवजन्तुको महत्वपूर्ण योगदान रहन्छ भन्ने कुरा सर्वसाधारणले बुझ्न थालेका छन्, अजिङ्गर देखापर्नेबित्तिकै स्थानीयले खबर गर्छन्, आफैँ पनि सुरक्षित रुपले उद्धार गरी बुझाउने गर्दछन् ।” उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित बासस्थानमा लगेर छाडिने गरेको उहाँले बताउनुभयो ।
“अजिङ्गर संरक्षित वन्यजन्तु भएकाले यसलाई संरक्षण गर्नुपर्छ भनेर प्रचारप्रसार गर्दै आएका छौँ, यसबाट सर्वसाधारण जानकार भएका छन्”, प्रमुख यादवले भन्नुभयो । उहाँका अनुसार स्थानीय बासिन्दाको कुखुरा फार्म, खेतबारी, आँगन, घरभित्र अजिङ्गर आहाराको खोजीमा आउने गर्दछ ।
खेतका डिलमा पनि अजिङ्गर देखापर्न थालेका भन्दै वन कार्यालयलाई खबर गर्ने गरिएको स्थानीयको भनाइ छ । उद्धार गरिएका अजिङ्गरको लम्बाइ तीन मिटरदेखि पाँच मिटरसम्म रहने वन कार्यालयले जनएको छ । तौल ३० किलोग्रामदेखि ६० किलोग्रामसम्म रहने गरेको छ ।
सर्पको प्रजातिमध्ये सबैभन्दा ठूलो प्रजातिका रूपमा अजिङ्गर रहेको भन्दै घाइते वन्यजन्तु उद्धार केन्द्र सञ्चालन गरी केन्द्रमार्फ उद्धार गरिँदै आइएको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।
“यो विषालु भने हुँदैन”, उहाँले भन्नुभयो, “यसले मृगका पाठा, बाख्राका पाठा सजिलै निल्न सक्छ, जङ्गली जनावरसँगै, चरा, मुसा, घरपालुवा बाख्रालगायत साना जनावर र कुखुरा खाएको देखेका छौँ, मानिसलाई नोक्सानी पुर्याइएको भने पाइएको छैन ।” अजिङ्गर संरक्षित वन्यजन्तु भएकाले चोरी सिकारी गर्न भने नपाइने उहाँले बताउनुभयो । अहिलेसम्म जिल्लामा अजिङ्गरको चोरी सिकारी, तस्करी भएको तथ्याङ्क नभएको उहाँको भनाइ छ ।
विशेषगरी अजिङ्गर घना वनजङ्गल, रुखको ठूलाठूला मुडामा र सुकेको पातमा लुकेर बस्ने गर्दछन् । कहिलेकाहीँ नदी र ठूला पोखरीका आसपासका घाँसे मैदानमा बस्दछन् । अजिङ्गरलाई घर, खेतबारीलगायत क्षेत्रमा भेटाएमा स्थानीय बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वन कार्यालयको जिम्मा लगाउने गरिएको छ ।
अजिङ्गरको टाउको फराकिलो हुन्छ । आँखाहरू साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ । यसको शरीर सेतो र छिरविरे रङको हुने गर्दछ । सर्पको प्रजाति भए पनि अजिङ्गगर विषालु भने हुँदैनन् ।
प्रतिक्रिया राख्नुहोस्