अमेरिकामा कति छन् अप्रमाणित आप्रवासी नेपाली
अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध आप्रवासीलाई देश निकाला गर्ने कागजातमा दस्तखत गरेर पदभार ग्रहण गर्नुभयो ।

त्यसलगत्तै अमेरिकामा अवैध आप्रवासी खेद्ने अभियान जारी छ । ट्रम्पको शासन सुरु भएसंगै सो मुलुकमा रहेका आप्रवासीहरुमा ठूलो त्रास पैदा भैरहेको छ ।
ट्रम्प शासन सुरु भएसंगै नेपालबाट पहिलोपटक फागुन २१ गते बुधाबार ८ जना नेपालीलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो ।
सो घटनापछि अमेरिकामा कति नेपाली अवैध रुपमा बसोबास गरिरहेका छन् भन्ने प्रश्न उठिरहेको छ । यद्यपि अमेरिकामा बसोबास गर्दै आएका अप्रमाणित नेपाली आप्रवासीको सङ्ख्या भने स्पष्ट छैन।
विश्वभरका मानिसका लागि सपनाको देशका रुपमा चिनिने अमेरिकामा सजा करोडभन्दा बढी अवैध आप्रवासी रहेको तथ्यांक छ ।
सन् २०२२ सम्ममा झन्डै एक करोड १० लाख अप्रमाणित आप्रवासीहरू थिए। उक्त सङ्ख्या अमेरिकाको कुल जनसङ्ख्याको झन्डै ३.३ प्रतिशत हो। सन् २०२४ सम्म आइपुग्दा योसंख्या अझै बढेको अनुमान छ ।
विभिन्न विवरणहरूमा जनाइएअनुसार यसअघि राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै ५,००० नेपालीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए।
अमेरिकाको सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म कुल ३ सय ८९ नेपाली देशनिकालामा परेका ।
त्यसो त यसअघिट्रम्पको पहिलो चारवर्षे कार्यकालमा झन्डै १५ लाख जनालाई अमेरिकाबाट देशनिकाला गरिएको थियो। बाइडन प्रशासनले अमेरिकाबाट बाहिर निकालेका विदेशी आप्रवासीको सङ्ख्यामा पनि त्यसको छेउछाउ पुगेको बताइन्छ ।
बराक ओबामाका दुई कार्यकालमा ३० लाख जनाभन्दा बढी आप्रवासीहरूलाई अमेरिकाले निकाला गरेको थियो। आधुनिक अमेरिकाको इतिहास हेर्ने हो भने सन् १९५४ मा सम्भवतः सबैभन्दा ठूलो सामूहिक देशनिकाला भएको थियो।
त्यस वर्ष ‘अपरेशन वेटब्याक’ अन्तर्गत १३ लाख जनालाई अमेरिकाको सीमाबाट बाहिर पठाइएको थियो। मेक्सिकोका मानिसहरूलाई अपमानपूर्वक भनिने शब्दबाट उक्त अभियानको नाम राखिएको थियो।
उक्त अभियानले सार्वजनिक विरोध पनि खेप्नुपर्यो। किनभने केही अमेरिकी नागरिकहरू पनि देशनिकालामा परे र खर्चको विषय पनि उठ्यो। सन् १९५५ मा यो अभियान टुङ्गियो।
आप्रवासनविज्ञहरू उक्त अभियानलाई देशनिकाला गर्ने अहिलेका प्रयासहरूसँग तुलना गर्न नमिल्ने तर्क गर्छन्। उनीहरूका अनुसार उक्त कारबाही परिवार भएका र टाढाका अन्य देशबाट आएका मानिसहरूप्रति नभई मेक्सिकोबाट एक्लै आएका पुरुषहरूप्रति लक्षित थियो।
अन्यत्रबाट पनि दैैनिक निष्काशित हुन्छन् नेपाली
अध्ययन, व्यवसाय तथा वैदेशिक रोजगारीका सिलसिलामा विश्वको ७० भन्दा बढी मुलुकमा नेपालीहरुको उपस्थिति छ । यससंगै अवैध गतिविधिमाा संलग्न रहेको भन्दै दैनिक तीनजना नेपाली विभिन्न मुलुकबाट निष्काशित भएर आउने गरेकाा छन् ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार औसतमा प्रत्येक दिन तीन जनाभन्दा धेरै र हरेक महिना १०० जनाको हाराहारीमा नेपालीहरू विभिन्न देशबाट निष्काशित भएर नेपाल फर्किरहेका छन्।
सन् २०२४ को नोभेम्बरको तेस्रो सातासम्मको तथ्याङ्कअनुसार विभिन्न देशबाट निकाला भएर स्वदेश फर्काइएका नेपाली नागरिकको सङ्ख्या १,१६२ छ। यसमा यूएईबाट सबैभन्दा बढी नेपाली निष्काशनमा परेका छन्।
प्रतिक्रिया राख्नुहोस्