जापान

जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा

जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउको हल्का बर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ ।

जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा

उत्तरी शहर ओफुनातो वरपर एक हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै करिब चार हजार बासिन्दालाई आफ्नो घर खाली गर्न बाध्य पारिएको छ ।

यसले लगभग दुई हजार ९०० हेक्टर (म्यानहट्टनको लगभग आधा आकार) लाई सखाप पारेको छ र यो सन् १९७५ होक्काइदोमा दुई हजार ७०० हेक्टर जलेको डढेलोपछिको सबैभन्दा ठूलो डढेलो हो ।

एएफपीका संवाददाताका अनुसार बुधबार भएको हल्का वर्षा र हिउँका कारण पहाडहरूबाट सेतो कुहिरो निस्केको देखिएको थियो । बिहीबारसम्म थप पानी पर्ने अनुमान गरिएको छ ।

आफ्नो घरबाट भागेर आफन्तसँग बसिरहेका ८५ वर्षीय मित्सुओ ओत्सुबोले भन्नुभयो, “मैले पहिले कहिल्यै नदेखेको यति ठूलो डढेलोले बस्तीहरूलाई त्रसित पारेको छ । यो विशाल छ र तीव्र गतिमा फैलिइरहेको छ।”

“यो वर्ष वर्षा वा हिमपात भएको छैन । खुशीको कुरा आज वर्षा भएको छ । म केवल आशा गर्न सक्छु कि यसले स्थितिलाई नियन्त्रण गर्न मद्दत गर्नेछ।” समुद्री शैवाल र ‘स्क्यालप’ (सामुद्रिक झार) को खेती गर्ने एक किसानले भन्नुभयो ।

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढेसँगै जापानमा गत वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएको थियो ।

ओफुनातोमा फेब्रुअरीमा मात्र २.५ मिलिमिटर (०.१ इन्च) वर्षा भएको थियो जसले सन् १९६७ को ४.४ मिलिमिटरको उक्त महिनाको रेकर्ड तोडेको थियो ।

‘कहाँ भाग्ने थाहा छैन’
करिब २७० जना मानिस आश्रय लिएर बसिरहेको एउटा हलमा अस्थायी टेन्टहरू राखि बसिरहेका ६९ वर्षीय फुमिको तनाकाले एएफपीसँग भन्नुभयो, जनजीवन अस्तव्यस्त बनेको छ ।

हलमा पानीका बोतल र खानाका सामग्रीहरू टेबुलहरूमा यत्रतत्र छरिएको अवस्थामा देखाउँदै उहाँले भन्नुभयो, “घर छोडेर यस्तो वातावरणमा बस्नु कम पीडादायी पक्कै छैन तर यो भन्दा बढी पीडा घर र त्यहाँको सम्पत्ति के भयो भन्ने भएको छ।”

“डढेलो सबैभन्दा डरलाग्दो विपत्ति हो, यो एक ठाउँबाट अर्को ठाउँमा फैलिन्छ र कता भाग्ने भन्ने पनि मानिसहरूलाई निश्चित हुँदैन”, ६९ वर्षीय तनाकाले भन्नुभयो, “म केवल आशा गर्न सक्छु कि आगो बस्ती र मेरो घरमा नपुगोस् ।”

तनाका र माछा मार्ने व्यवसाय अपनाएका उहाँका पतिले भन्नुभयो, “हरेक वर्ष जलवायु परिवर्तनको प्रभाव महसुस गर्छन् र यसलाई परम्परागत रूपमा नै व्याख्या गर्छन् । समुद्रको बढ्दो तापक्रमले माछाको आहारामा असर परेको छ र पनि पहिलेजस्तो सहज पाइदैनन् । यसले माछा हाम्रो दैनिकीलाई पनि असर गरेको छ ।”

आगलागीबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको अग्नि नियन्त्रक निकायले जनाएको छ ।

तातो पानीको सेवा दिने एक होटेलका मालिकले स्वेच्छाले आफ्नो सरायको सुविधा विस्थापितहरूका लागि खाली गरी निःशुल्क सेवा दिइरहेको बताउनुभयो । ओफुनातो ओन्सेनका ६० वर्षीय तोयोशिगे शिदाले एएफपीसँग भन्नुभयो, “आश्रयस्थलमा जीवनको अस्तव्यस्ततासँग जुध्न नुहाउन नसक्नुले पक्कै पनि तपाईंलाई निराश तुल्याउँछ।”

सन् २०११ मा आएको विनाशकारी भूकम्प र सुनामीका कारण ओफुनातोमा मात्रै कम्तीमा ३४० जनाको मृत्यु भएपछि मानिसहरूले भोग्नुपरेको पीडा देखेपछि आफूले उक्त सराय निर्माण गरेको उहाँले बताउनुभयो ।

शुष्क मौसम
जापानमा सन् १९७० को दशकयता डढेलोको घटनामा कमी आएको छ । सन् २०२३ मा फेब्रुअरीदेखि अप्रिलसम्मको अवधिमा करिब एक हजार ३०० हेक्टर षेत्रमा डढेलो फैलिएको थियो ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका पूर्व अग्नि तथा उद्धार आयुक्त ग्रेग मुलिन्सले एएफपीसँग भन्नुभयो, “यो आगो र लस एन्जलसको हालैको डढेलो ‘अत्यन्त असामान्य’ थियो किनभने ती जाडोयाममा थिए।

उहाँले भन्नुभयो, “दुवै अवस्थामा डढेलो लाग्नुभन्दा पहिले वर्षाको कमीले परिदृश्यलाई सुख्खा बनायो। गर्मी बढ्यो जसले वाष्पीकरण र वनस्पतिहरूलाई व्यापक मात्रामा सुख्खा बनायो । त्यसपछि बनमा डढलो लाग्यो र सङ्कट निम्त्यायो ।

इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन ग्रुपका संस्थापक मुलिन्सले भन्नुभयो, “यो जलवायु परिवर्तनको साझा उपज हो ।” “जब ग्रह थप तातो हुन्छ, हामी ती ठाउँहरूमा डढेलो र आगलागी भएको देख्छौँ । जापानको ओफुनाता पहिले कहिल्यैँ यस्तो समस्या आएको थिएन।”

डढेलो र आगलागी नियन्त्रणका लागि टोकियोलगायत जापानका अन्य भागबाट तैनाथ करिब दुई हजार अग्निनियन्त्रकले हवाई र स्थलबाट काम गरिरहेका छन् ।

ओफुनातोका मेयर कियोशी फुचिगामीले भन्नुभयो, “डढेलो एक हप्तादेखि चलिरहेको छ । अग्निनियन्त्रकहरूको टोलीलाई हरेक दिन सुदृढीकरण गरिएको छ । यसले सुख्खा मौसमको मात्रा र हामीले सामना गरिरहेका कठिनाइहरू देखाउँछ।”

भिरालो ढलान र साँघुरा र घुमाउरो सडकभएको हिमाली तटीय क्षेत्रको भौगोलिक बनावटले आगो निभाउने कार्यमा बाधा पु¥याइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.