प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको हो ।

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २४९ रन बनायो । पुलिस क्लबका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै शेखले ७९ बल खेल्दै ५६ रन बनाए । यसमा उनको दुई छक्का समेत सामेल थियो ।
यसैगरी गुलशन झाले अविजित ३६ रन जोड्दा दिलिप नाथले ३४ तथा अमित श्रेष्ठले २२ रन बनाए । बलिङतर्फ लुम्बिनी प्रदेशका लागि कृष्ण कार्की र अजय चौहानले समान तीन-तीन विकेट लिए । पुलिसले दिएको २५० रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनी निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनमात्र बनायो ।
लुम्बिनीको लागि प्रज्वल थापाले ९४ बलमा सात चौका र एक चकको मद्दतमा ७१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यतै म्रिनल गुरुङले ३०, सलाहुद्दीन खानले १३ र कप्तान देव खनालले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिस क्लबको लागि सागर ढकालले तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीले समान दुई-दुई विकेट लिंदा रशिद खान र कुशल भुर्तेलको भागमा समान एक-एक विकेट रह्यो ।
आइतबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतिक्रिया राख्नुहोस्