गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा ‘समाजवादी मोर्चा’ को जोड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत पार्टी आबद्ध ‘समाजवादी मोर्चा’ ले गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

सिहंदरबारमा सोमबार बसेको मोर्चाको बैठकले राजसंस्थाबाट मुलुक र जनताको हित हुन नसक्ने भन्दै जनतामा छाएको निरासाबाट राजसंस्थावादीले फाइदा उठाउन खोजेको ठहर गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरू सहभागिता बैठकले भोलि फेरि बैठक बसी पछिल्लो राजनीतिक गतिविधिबारे धारणा सार्वजनिक गर्ने जनाइएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले सरकारले गरेका गतिविधिका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको जिकिर गर्नुभयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक दलहरूको लामो सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन गणतन्त्रवादीहरू सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता गंगा नारायण श्रेष्ठले देश अफ्ठ्यारो अवस्थामा धकेलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्