प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोशी प्रदेश सामू जितको लागि २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिद्धार्थ क्रिकेट स्टेडियम सिद्धार्थनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रन बनाएको हो । मधेस प्रदेशको लागि पवन सराफ, कप्तान अनिलकुमार शाह र दिपेश दासले अर्धशतकीय पारी खेले ।
पवनले ८५ बलमा ११ चौका र दुई चक्कको मद्दतमा ९२, अनिलले ७५ बलमा १० चौका प्रहार गर्दै ७५ र दिपेशले ६० बलमा सात चौका र एक चकको सहयोगमा ५६ रनमा अविजित रहे । त्यस्तै हरिशंकर शाहले २९ रन जोड्दा मयन यादव र रुपेश सिंहले समान १०-१० रन बनाए ।
कोशी प्रदेशको लागि प्रकाश कार्की र विपिन महतोले समान दुई-दुई विकेट लिए भने फिर्दोश अन्सारी र दिपेश कँडेलको भागमा समान एक-एक विकेट रह्यो । आइतबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतिक्रिया राख्नुहोस्