प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले लगातार दोस्रो जित दर्ता गरेका छन्। बुधबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको हो भने पुलिसले कोशी प्रदेशलाई एक सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

सिद्धर्थनगर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४५.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले १२१ बलमा दुई चौकाको मद्दतले ४९ रनमा अविजित रहे भने सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६-१६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका लागि शहाब आलमले चार विकेट लिए भने सोमपाल कामीले दुई विकेट लिंदा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लको भागमा समान एक-एक विकेट रह्यो । सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौका प्रहार गर्दै अविजित ५५ रनको अर्धशतकीय पारी खेले भने तृतराज दासले ३१ रन इओद्द कप्तान विनोद भण्डारीले २० रनमा अविजित रहे । सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले समान एक-एक विकेट लिए ।
जितसँगै आर्मीले दुई खेलमा चार अंक जोडेको छ भने सुदूरपश्चिमको तीन खेलबाट दुई अंक रहेको छ । आर्मीले पहिलो खेलमा बागमतीलाई पराजित गरेको थियो भने सुदूरपश्चिमले गण्डकीलाई पराजित गर्दा कर्णालीसँग हार बेहोरेको थियो ।
त्यसैगरी बुधबारै भएको अर्को खेलमा पुलिसले कोशीलाई एक सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भैरहवाको एक्स्ट्रा टेक क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको पुलिसले निर्धारित ५० ओभरमा आतक विकेट गुमाउँदै दुई सय ८८ रन बनाएको थियो ।
पुलिसको लागि कुशल भुर्तेल र दिलि नाथले क्रमश: ६५ र ६१ रनको अर्धशतकीय पारी खेले । कुशलले ७८ बलमा दुई चौका र दुई छक्क प्रहार गरे भने दिलीपले ६४ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै अर्जुन साउद र रशिद खानले समान ३८-३८ रन जोड्दा कप्तान दीपेन्द्र सिंह ऐरीले ३२ र गुलसन झाले २१ रन बनाए ।
कोशीको लागि भुपाल लुइंटेलले तीन विकेट लिए भने प्रकाश कार्कीले दुई विकेट लिंदा फिर्दोश अन्सारी, श्रवण किस्कु ए दिपेश कँडेलको भागमा समान एक-एक विकेट रह्यो । पुलिसको प्रस्तुत गरेको २८९ रनको लक्ष्य लिएर मैदान उत्रेको कोशी ३६ दशमलव २ ओभरमा एक सय ३४ रनमा अलआउट भयो ।
कोशीको लागि सुजन थपलिया ३३ रनमा अविजित रहँदा कप्तान अंकित सुबेदीले २१ रन बनाए । यस्तै शकिब हकले १७ र फिर्दोश अन्सारीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसको लागि करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेल र ललितनारायण राजवंशीले समान दुई-दुई विकेट लिंदा दीपेन्द्र सिंह ऐरी, गुलसन झा र सगर ढकालको भागमा समान एक-एक विकेट रह्यो ।
प्रतिक्रिया राख्नुहोस्