जन सरोकार

फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’

भृकुटीमण्डप प्रवेश गर्नेबित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ । द्वार(गेट) प्रवेश गर्नेबित्तिकै लाग्छ विभिन्न रङगीचङ्गी फूलहरूले स्वागत गरिरहेका छन् । थरिथरिका फूल तथा बोटबिरूवामा मौरीझैँ झुम्मिएका देखिन्छन् फूलप्रेमीहरू ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा शुक्रबारदेखि सुरू भएको २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो)को दृश्य हो यो । फूलैफूलको संसारमा रमाइरहेको भेटिनुभयो, प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापा । पुष्प मेलामा फूल किन्दै गर्दै भेटिनुभएकी थापाको हातमा ‘जेरानियम’ फूलको बोट थियो भने अर्को हातमा थप अरू फूलका बिरूवाहरू ।

उहाँ बोटबिरूवाको सौखिन हुनुहुन्छ । उहाँलाई मौसमअनुसारको फलफूल तथा तरकारी आफैँ फलाएर खाने इच्छा लाग्छ । कौसीखेती गर्दै आउनुभएकी उहाँले सागसब्जी, फूलहरू रोप्नुभएको छ । सकेसम्म अग्र्यानिक खाने प्रयत्न गर्नुहुन्छ थापा । “यस्तो मेला लाग्नेबित्तिकै एकपटक छिरिहाल्छु । फुर्सद हुँदासम्म आफैँ रोप्ने, बोटबिरूवाको स्याहार्ने काम गर्छु”, थापा भन्नुहुन्छ ।

पुष्प मेला हेर्न भक्तपुरबाट आउनुभएकी समृद्धी राईले छवटा फूलहरू किन्नुभयो । उहाँ हरेक वर्ष मेलामा आउनुहुन्छ र मनपरेका फूलहरू किनेर लानुहुन्छ । उहाँ भन्नुहुन्छ, “फूलप्रेमीलाई त मेला औधी रमाइलो लाग्छ । मैले थुप्रै फूलहरू रोपेकी छु । फूलको सङ्कलन गर्न मनपर्छ । घरभरि नै सजाएर राखेको छु ।”

मेलामा कसैको आँखा गमलामा तथा कसैको आँखा ठूलो फुल्ने फूलहरूमा देखिन्थ्यो । मौसमअनुसारको फुल्ने फूलहरूमा धेरैको चासो गइरहेको थियो । मेलामा जेरानियम, लाहुरे फूल, सिनारेरिया, पेटुनिया, गुलाब, लिली, कार्नेसनलगायत सयौँ प्रकारका आउटडोर तथा इन्डोर फूल तथा बोटबिरूवा प्रदर्शनीमा राखिएको थियो ।

कीर्तिपुरका साहिल श्रेष्ठ ‘अर्किड’को सङ्कलन गर्न मन पराउनुहुन्छ । उहाँले मेलामा विभिन्न प्रकारका अर्किडको खोजीमा आउनुभएको थियो । तर भनेजस्तो पाउनुभएन । उहाँ भन्नुहुन्छ, “खासै खोजेजस्तो पाइएन । मसित भएका नै रहेछन् प्रायः । मूल्य पनि नर्सरीभन्दा अलि बढीजस्तो लाग्यो ।”

भृकुटीमण्डप प्रदर्शनी हलमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ देखि ४ गतेसम्म मेला लाग्नेछ । आयोजकका अनुसार मेलामा ८२ वटा प्रदर्शनी कक्ष राखिएका छन् । मेलामा विभिन्न प्रजातिका फूल, मल, गमलालगायत पुष्प सामग्री रहेका छन् । मेला संयोजक रामबहादुर तामाङले मेलामा करिब ६० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.