जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, रूपन्देही, सर्लाही, मोरङ, दाङ र कैलालीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं, टोखा नगरपालिका-१ फूलबारी गेटस्थित सडकमा बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.प्र.०२- ०३९ प ९८२८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा योगिकुटीबाट चौराहातर्फ जाँदै गरेको ग.१७ प ८७७२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा चालक स्याङजा घर भएका २७ वर्षीय मिलन गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बुटवल अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सर्लाही, बलरा नगरपालिका-८ बालुवाभारस्थित सडकमा बीआर ३० एई २४९० नम्बरको स्कारपियो गाडीको ठक्करबाट भारत सितामाढी थाना बरगनिया नन्दबारा ग्रामपञ्चायत घर भएका रामेश्वर साहको छोरा ५ वर्षीय पियुष कुमार साहको शनिबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता मोरङ, बुढीगंगा गाउँपालिका-३ स्थित सडकमा गंगा चोकबाट नेमुवातर्फ आउँदै गरेको को.१ च ४७७४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने उदयपुर घर भएका २४ वर्षीय आशिष राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता दाङ, तुलसीपुर उपमहानगरपालिका-९ गौरीशंकर टोलस्थित सडकमा गौरीशंकर टोलबाट अटो भिलेज टोलतर्फ जाँदै गरेको रा.१ त ३२३९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सल्यान छत्रेश्वरी गाउँपालिका-२ घर भएका दुर्गा प्रसाद वलीकी छोरी ९ वर्षीया दिपसिखा वलीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-३ मालाखेती चोकस्थित सडकमा अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा.१७ च ९६४५ नम्बरको स्कारपियो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-४ बस्ने ३५ वर्षीय सुदिप रानाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.