माल्टा र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रसुवा गोसाईकुण्ड गाउँपालिका-१ घर भई ललितपुर गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बुढीनन्दा नगरपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने २८ वर्षीय दिपेश रावत रहेका छन् ।
पक्राउ मध्ये बिर्खले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र दिपेशले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर्खलाई काठमाडौं शंखरापुर नगरपालिका-४ बाट आइतबार र दिपेशलाई काठमाडौं महानगरपालिका-२८ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्