राजतन्त्र पुनःस्थापनाका लागि अर्को मूर्खता नगरौं : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्र पुनःस्थापना असम्भव रहेकाले त्यसका लागि फेरि अर्को मूर्खता गर्नु उचित नहुने बताउनुभएको छ ।

जनताको सङ्घर्ष र बलिदानको बलमा स्थापित राजनीतिक उपलब्धि खोस्ने प्रयास स्वीकार्य नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यस्तो प्रयासलाई परास्त गरिने पनि बताउनुभयो ।
२७औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा मंगलबार आयोजित जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०८१ कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
त्यसक्रममा उहाँले अहिले संविधान संशोधनभन्दा पनि समीक्षाको बहस आवश्यक रहेको बताउँदै संविधान समीक्षाको बहस चलाएर टुङ्गोमा पुगेपछि मात्रै संशोधन अघि बढाइनुपर्ने सुझाव दिनुभयो ।
वैज्ञानिक समाजवादलाई राजनीतिक उद्देश्य लिएका माओवादी धारहरु छिट्टै एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले वामपन्थी एकताका निम्ति आफूले इमान्दार प्रयास गर्ने बताउनुभयो । मुलुकको राजनीतिक परिवर्तनमा संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य माइला लामाले मुलुकलाई पश्चगमनतर्फ फर्काउने प्रयास कुनै हालतमा सफल नहुने बताउनुभयो । प्रतिगामी कदम विरुद्ध माओवादीहरु एकताबद्ध भएर फेरि सङ्घर्ष गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री सत्य पहाडीले लेख्नुभएको १० वटा पुस्तक विमोचन गर्नुभएको थियो । सो क्रममा अध्यक्ष दाहालले सांस्कृतिक सहिद परिवारका सदस्यलाई सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्