नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कपनी चन्द्रागिरि हिल्सले चन्द्रागिरी चुचुरोमा रहेको भालेश्वर मन्दिर दर्शनका जाने पदलयात्रुसंग शुल्क असुल्न थालेपछि यसको चर्को बिरोध भैरहेको छ ।

चन्द्रागिरि डाँडोसम्म पुग्न केबलकार संचालन गरिरहेको हिल्सले त्यहाँ भालेश्वर महादेव मन्दिर निर्माण गरेको छ । सो मन्दिर दर्शन गर्न पैदलमार्गबाट दर्शनार्थी जान थालेपछि पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग शुल्क असुल्न थालेको थियो ।
चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क असुली गरिरहेको छ ।
सर्वसाधारणसंग अनधिकृत रुपमा शुल्क असुलेको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले चन्द्रागिरि हिल्सलाई पत्राचार गर्दै तत्काल सो कार्य रोक्न निर्देशन दिंदै हालसम्म सङ्कलित रकम नेपाल सरकारलाई फिर्ता गर्न अनुरोध गरिएको छ ।
वडाध्यक्ष राजकुमार बलामीले भालेश्वर मन्दिरसम्म जाने पैदलमार्ग अन्तर्गत चन्द्रागिरि हिल्सले चेकपोइन्ट राखेर उक्त मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क लिइरहेको भनी जनगुनासो प्राप्त भएको बताउनुभयो ।
सोही आधारमा उहाँले उक्त कार्य तत्काल रोकी उक्त पैदलमार्ग हुँदै भालेश्वर मन्दिरसम्म जाने कुनै पनि पैदलयात्रीलाई आवतजावतमा रोकावट नगर्नसमेत लिखित निर्देशन दिनुभएको छ ।
उता कम्पनीले थाहाका नगरप्रमुख, उपप्रमुख र वडा नं. ९ का वडाध्यक्षसँगको सहमतिमा सडक मर्मत र सरसफाइका लागि पैदलयात्रुसँग एक सय रुपियाँ उठाउँदै आएको जिकिर गरेको छ ।
थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले चन्द्रागिरि हिल्ससँगको सहमति उल्लङ्घन गर्दै नागरिकसँग एक सय रुपियाँ उठाउँदै आएकामा आफूहरूले असहमति जनाउँदै आएको जानकारी दिनुभयो ।
उहाँले थाहा नगर, इन्द्रसरोवर र चन्द्रागिरिका बासिन्दासँग शुल्क नलिने अरूसँग लिने गरेकामा पनि पछि आफूहरूले आपत्ति जनाउँदै कोहीसँग पनि अनधिकृत रूपमा लिन नपाउने व्यवस्थापनलाई सुझाएको बताउनुभयो ।
यस्तै थाहा नगरपालिकाका ९ र १० नं. वडा चन्द्रागिरि नगरपालिकाका केही वडा, इन्द्रसरोवरका ४ र ५ नं. वडाका बासिन्दालाई केबुलकार भाडामा छुट दिने गरेको आफूहरूको तीन वटै पालिकाका सबै नागरिकले छुट पाउन पर्छ भनेपछि २५ प्रतिशत छुट दिने गरी सहमति भएको उहाँले सुनाउनुभयो ।
उता मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ वडा कार्यालयले भालेश्वर मन्दिर र वनमा जान प्रवेश शुल्क उठाउन चन्द्रागिरि हिल्सलाई वडा कार्यालयले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको जनाएको छ ।
वडाध्यक्ष दुतराज तितुङले चन्द्रागिरि हिल्सले शुल्क उठाउँदै आएको विषयमा ध्यानाकर्षण भएको भन्दै मङ्गलबार जारी सूचनामा सार्वजनिक वन र मन्दिरमा जाँदा कुनै शुल्क बुझाउनु नपर्ने बताउनुभएको छ ।
उहाँले भालेश्वर मन्दिर जान पैदल यात्रुसँग प्रवेश शुल्क लिइएको जनगुनासो आएको र पैदल यात्रुसँग प्रवेश शुल्क उठाउने विषयमा चन्द्रागिरि हिल्सलाई यस वडाले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको बताउनुभयो ।
वडाध्यक्ष तितुङद्वारा जारी सूचनामा भनिएको इन्द्रसरोवर गाउँपालिकाको वडा नं। ५ को समेत क्षेत्रमा पर्ने पवित्र धार्मिक क्षेत्र भालेश्वर मन्दिर र वन क्षेत्रमा चन्द्रागिरि हिल्स ले पैदल यात्रुसँग प्रवेश शुल्क लिने कार्य गैरकानुनी रहेकाले तत्काल सो कार्य बन्द गर्न यसै सूचनाद्वारा निर्देशन दिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्