बौद्ध इन्टरनेशनल स्कूल विवाद- नगरपालिकाको निर्णय नमान्ने छुट कसैलाई छैन
असोज १२ गते सोमबार काठमाडौंको गोकर्णस्थित आत्तरखेलमा रहेको बौद्ध इन्टरनेशनल स्कूलमा आक्रोशित अभिभावकहरुले केही कुर्सी भाँचेपछि बढेको विवाद अहिले प्रहरीसम्म पुगेको छ । विद्यालयले केही विद्यार्थी र अभिभावकको नाममा तोडफोडको उजुरी दिएर विद्यालयले आफ्नो कमजोर लुकाउन प्रपञ्च रचेको अभिभावकहरुको आरोप छ ।
संघीय सरकारको निर्णय अनुसार गोकर्णेश्वर नगरपालिका शिक्षा समितिले सार्वजनिक गरेको सूचना र दिएको निर्देशन विपरीत सो स्कूलले शुल्क असुल्न खोजेका कारण उत्पन्न विवाद कसरी निरुपण हुन्छ भन्ने प्रश्नकाबीच विद्यालय र अभिभावकबीच चर्को आरोप प्रत्यारोप चलिरहेको छ ।
गत भदौमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेपछि निजी विद्यालयहरुले शुल्क लिन थालेकामा बौद्ध इन्टरनेसनलले साविक शूल्कमा १० प्रतिशत थपेर बिल तयार पारेर त्यसमा ४० प्रतिशत छुट गरेर अभिभावकलाई बिल तिर्न ताकेता गर्न थाल्यो र वैशाखदेखिको शूल्क नतिरेको विद्यार्थीको नाम अनलाइन कक्षाबाट हटायो ।
स्मरणीय छ, ११ असोजमा बसेको गोकर्णेश्वर नगरपालिकाको नगर शिक्षा समितिको बैठकले वैशाख, जेठ र असारको शूल्क नलिनु भनेको छ । शिक्षा, खेलकुद तथा युवा शाखाका उपसचिव विजयप्रसाद आचार्यद्वारा हस्ताक्षरित पालिकाको पत्रमा भनिएको छ, ‘२०७७ बैशाख, जेठ र असारको शूल्कमा पूर्ण छुट गरी साउन महिनादेखि मात्रै शूल्क लिने विद्यालयले व्यवस्थापन गर्ने ।’
तर सो विद्यालयले वैशाखदेखिको शुल्क लिन खोजेका र भनेकै बेला शुल्क नतिर्नेको नाम अनलाइन कक्षाबाट हटाएपछि अभिभावकहरू आक्रोशित बने । शूल्क तिर्छु भन्दा भन्दै विद्यालयले विद्यार्थीको नाम काटेको अभिभावकहरूको गुनासो छ भने शूल्क नबुझाउने विद्यार्थीलाई जुम कक्षा बस्न नदिएको विद्यालयले पनि स्वीकारेको छ ।
शिक्षा मन्त्रालयद्वारा निर्देशिकामा ‘विद्यालयले लिन पाउने शूल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरेको बमोजिम हुनेछ’ भनिएको छ । बौद्ध इन्टरनेसनलले भने स्थानीय सरकारको निर्देशन विपरीत शूल्क लिन लागेको देखिन्छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगाना नगर शिक्षा समितिको निर्णय आफ्नो नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थामा अक्षरशः पालना गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘कोभिडले गर्दा सबैका आआफ्ना समस्या छन् तर नगर समितिको निर्णय नमान्ने छुट कसैलाई पनि छैन ।’
उता बौद्ध इन्टरनेसनलले भने विद्यालय लचक हुँदाहुँदै अभिभावकहरूकै कारण विवाद बढेको बताउँछन् । तेस्रोपटक पत्र पठाउँदा पनि शूल्क नतिर्ने विद्यार्थीको नाम अनलाइन कक्षाबाट हटाइएको विद्यालयले जानकारी दिएको छ ।
प्रिन्सिपल हरिराम लामाका अनुसार सोमबारको विवादका कारण पनि अभिभावकै भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘त्यसदिन उहाँहरू आफै छलफलमा आउनुभएको हो, पाँच जना अभिभावकले पालैपालो बोल्ने र त्यसपछि हामीले जवाफ दिने कार्यक्रम थियो’ लामा भन्छन्, ‘चार जना अभिभावक बोलिसकेपछि पाँचौं अभिभावक एकाएक आक्रोशमा आउनु भयो र छलफल अगाडि बढ्न सकेन ।’
प्रतिक्रिया राख्नुहोस्